सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त

काठमाडौं । नेपालको अग्रणी टायल्स र बाथवेयर ब्रान्ड सोमानी सेरामिक्स लिमिटेडले नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई नेपाल तथा दक्षिण–पूर्व एसियाका लागि आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

कम्पनीका अनुसार यो सहकार्यले सोमानी सेरामिक्स र नेपाली उपभोक्ताबीचको सम्बन्धलाई अझ गहिरो बनाउने तथा ब्रान्डको बजारस्थितिलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ। पारस खड्का अब सोमानी सेरामिक्सका सम्पूर्ण उत्पादनहरू — टायल्स, बाथवेयर, एडहेसिभ र वाटरप्रुफिङ — का ब्रान्ड प्रवद्र्धन गतिविधिहरूमा संलग्न रहनेछन्।

सहकार्यबारे बोल्दै सोमानी सेरामिक्सका सह–अध्यक्ष सुजित मोहन्तीले पारस खड्कालाई सोमानी परिवारमा स्वागत गर्दै भने, “पारसको लगनशीलता, नेतृत्व र उत्कृष्टताको यात्रा हाम्रो कम्पनीको नवीनता र गुणस्तरप्रतिको प्रतिबद्धतालाई प्रतिनिधित्व गर्छ। नेपाल हाम्रो प्रमुख बजारमध्ये एक हो, र पारसको विश्वसनीयता तथा लोकप्रियताले ब्रान्डप्रति विश्वास र प्रेरणा जगाउनेछ।”

त्यस्तै, कम्पनीका मार्केटिङ प्रमुख तथा उपाध्यक्ष अंशुमन चक्रवर्तीले भने, “पारस केवल खेलमैदानमा होइन, व्यक्तिगत जीवनमा पनि इमानदारीता र सकारात्मक सोचका लागि परिचित व्यक्तित्व हुन्। युवादेखि परिवारसम्म सबै पुस्तामा उनको लोकप्रियता भएकाले उनी सोमानीका मूल्य र दृष्टिकोण प्रस्तुत गर्नका लागि उपयुक्त अनुहार हुन्।”

पारस खड्काले सोमानीसँगको सहकार्यप्रति उत्साह व्यक्त गर्दै भने, “म जीवनमा जस्तै उत्कृष्टता र गुणस्तरका लागि निरन्तर प्रयास गर्ने ब्रान्डसँग जोडिन पाउँदा गर्व महसुस गर्छु। सोमानी घर सजावटको क्षेत्रमा विश्वसनीय र प्रिमियम ब्रान्ड हो, र म यससँगको सहकार्यलाई प्रेरणादायी यात्राको रूपमा लिन्छु।”

कम्पनीले पारस खड्कालाई आगामी दिनमा ब्रान्ड प्रवद्र्धनका विभिन्न क्रियाकलापमा प्रस्तुत गर्ने योजना सार्वजनिक गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री