गरिमा विकास बैंकको १९औं साधारणसभा, शेयरधनीलाई १०.५३% लाभांश वितरण गर्ने

पोखरा । गरिमा विकास बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभा आज कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा भव्यताका साथ सम्पन्न भएको छ। सभाले बैंकका शेयरधनीहरूका लागि महत्त्वपूर्ण निर्णयहरू गर्दै १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

साधारण सभाले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर र नगद लाभांशको करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ। यस निर्णयबाट शेयरधनीहरूमा उत्साह छाएको छ।

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँड हिसाब, इक्विटीमा भएको परिवर्तन लगायतका सम्बन्धित अनुसूचीहरू पारित गरिएका छन्। साथै, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण कार्यका लागि लेखापरीक्षकको नियुक्ति गर्ने लगायतका सामान्य प्रस्तावहरू पनि पारित भएका छन्।

विशेष प्रस्तावहरू अन्तर्गत, साधारण सभाले बैंकको अधिकृत पुँजी वृद्धि गरी ६ अर्ब १० करोड पुर्‍याउने निर्णय गरेको छ। यसका साथै, काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं. २, लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालयलाई काठमाडौँ महानगरपालिका वडा नं. ३, बालुवाटारमा अवस्थित आफ्नै भवनमा स्थानान्तरण गर्ने प्रस्ताव पनि पारित भएको छ। बैंकको छाप र लोगो परिवर्तन गर्ने तथा प्रवन्ध–पत्र र नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरूलाई पनि सभाले अनुमोदन गरेको छ।

हाल गरिमा विकास बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ ५७ पैसा रहेकोमा, यस वार्षिक साधारण सभाबाट पारित ६ प्रतिशत बोनस शेयर वितरणपश्चात बैंकको जारी तथा चुक्ता पुँजी बढेर ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैयाँ २२ पैसा पुग्नेछ।

हाल देशभर १२६ शाखा कार्यालयहरू र ५१ एटिएम सञ्चालनमा रहेको यस विकास बैंकले नवीनतम डिजिटल बैंकिङ सेवामार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री