काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै ३२ खेल अब डिशहोम गो (DishHome GO) मोबाइल एपमार्फत प्रत्यक्ष हेर्न सकिने भएको छ। आगामी १ देखि २७ मङ्सिर २०८२ (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने खेलहरू एप र वेबसाइटमार्फत प्रसारण गरिने छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलका लागि ओटीटी (OTT) प्रसारण अधिकार डिश मिडिया नेटवर्कलाई प्रदान गरेको हो। दर्शकहरूले एपमार्फत खेल हेर्न छुट्टै शुल्क तिर्नुपर्नेछ — नेपालमा ३०० रुपैयाँ, मध्यपूर्वका दर्शकका लागि ५०० रुपैयाँ, र अन्य देशका दर्शकका लागि १० अमेरिकी डलर तोकिएको छ। एप वा वेबसाइटबाट हेर्दा विज्ञापनरहित उच्च गुणस्तरको प्रत्यक्ष प्रसारण उपलब्ध हुनेछ।
यस वर्षका खेलहरू युट्युबमा प्रत्यक्ष प्रसारण नहुने भएका छन्। डिशहोम गो एप मोबाइल, एन्ड्रोइड टिभी र वेब तीनै माध्यममा उपलब्ध छ। दर्शकहरूले खल्ती, इसेवा, भिसा वा मास्टरकार्ड प्रयोग गरी सजिलै भुक्तानी गर्न सक्नेछन्। कम्पनीका अनुसार, नयाँ अपडेटेड एप गुगल प्ले स्टोरमा उपलब्ध छ भने आईओएस प्रयोगकर्ताका लागि एप केही दिनमै उपलब्ध हुने बताइएको छ।
उच्च गुणस्तर र अवरोधरहित स्ट्रिमिङ सुनिश्चित गर्न डिशहोमले मोबायोटिक्स (Mobiotics) र अकामाई (Akamai) सँग प्रविधिक सहकार्य गरेको छ। मोबायोटिक्स विश्वकै अग्रणी ओटीटी प्लेटफर्म विकासकर्ता हो, जसले आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा एकैपटक २३ लाखभन्दा बढी दर्शकलाई सहज रूपमा स्ट्रिमिङ सुविधा दिएको थियो।
त्यस्तै, अकामाई विश्वप्रसिद्ध क्लाउड सेवा प्रदायक हो, जसले भारतमा आईपीएलको डिजिटल प्रसारणका लागि ‘हटस्टार’सँग सहकार्य गर्दै आएको छ। अकामाईको प्रविधिले विश्वव्यापी सर्भर नेटवर्कमार्फत सामग्रीलाई छिटो, सुरक्षित र भरपर्दो रूपमा प्रयोगकर्तासम्म पुर्याउने काम गर्छ।




