नगरकोट रिसोर्टको छलाङ : एक वर्षमै ५५ लाख नाफा, नयाँ भवन र स्पा निर्माण तीव्र गतिमा

काठमाडौं । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–२, नगरकोटस्थित नगरकोट रिसोर्ट लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सोमबार सम्पन्न भएकाे छ । रिसोर्ट परिसरमा आयोजित सभाको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र राउत क्षेत्रीले गरेका थिए ।

सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण सर्वसम्मत रूपमा पारित गर्‍यो । गत आर्थिक वर्षमा रिसोर्टले रु. ४ करोड ८५ लाखको कारोबार गर्दै रु. ५५ लाख खुद नाफा आर्जन गरेको जानकारी सभामा प्रस्तुत गरियो ।

हाल रिसोर्टले २४ कोठाबाट सेवा प्रदान गर्दै आएको छ । दोस्रो चरण अन्तर्गत नयाँ भवन, स्पा र सम्मेलन कक्ष निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । सो निर्माण सम्पन्न भएपछि रिसोर्टको सेवा क्षमता र आकर्षण दुवै बढ्ने अपेक्षा गरिएको छ ।

अध्यक्ष क्षेत्रीले छोटो अवधिमै कम्पनीले उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै नगरकोट रिसोर्टलाई नेपालको अग्रणी पर्यटन गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले रिसोर्टको दीगो पर्यटन, स्थानीय सहकार्य र उच्चस्तरीय आतिथ्य विस्तारलाई आगामी वर्षको प्राथमिक प्राथमिकता बनाउने योजना पनि सार्वजनिक गरे ।

नगरकोट रिसोर्ट लिमिटेडले स्थापनाकालदेखि नै प्राकृतिक सौन्दर्य र स्थानीय संस्कृतिको संरक्षणमा जोड दिँदै आएको छ । कम्पनीले नेपाल भ्रमण गर्ने पर्यटकका लागि नगरकोटलाई “प्राकृतिक शान्ति र आधुनिक सुविधाको संगम”का रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री