काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच एपीआई इन्टिग्रेशन सम्बन्धी सम्झौता भएको छ। बीमा क्षेत्रको एयरमार्क प्रणालीलाई स्वचालित र प्रविधिमैत्री बनाउन यो सम्झौता मंगलबार सम्पन्न भएको हो।
सम्झौतापत्रमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नबिल बैंकका प्रमुख बजार अधिकृत निरज शर्माले हस्ताक्षर गरे। कार्यक्रममा कार्यकारी निर्देशक सुवेदीले यो सम्झौता बीमा क्षेत्रको एयरमार्क प्रणालीलाई पूर्ण रूपमा अटोमेसनमा रूपान्तरण गर्ने दिशामा महत्वपूर्ण माइलस्टोन हुने विश्वास व्यक्त गरे।
उनका अनुसार, यस इन्टिग्रेशनले बीमकहरूका लगानी प्रक्रियालाई छिटो, छरितो र त्रुटिरहित बनाउँदै नियमन तथा निरीक्षण प्रणालीलाई थप दक्ष र पारदर्शी बनाउन मद्दत गर्नेछ।
एपीआई इन्टिग्रेशनमार्फत बीमकहरूले मुद्दती निक्षेपमा गर्ने लगानीको एयरमार्क व्यवस्थापनलाई प्रविधिको माध्यमबाट सहज, सुरक्षित र विश्वसनीय बनाइनेछ। प्रणालीले प्राधिकरणबाट बैंकमा पठाइने ब्लक तथा अनब्लक अनुरोधहरूलाई स्वतः प्रमाणीकरण गरी सही विवरण भएका रिक्वेस्ट मात्र स्वीकृत गर्नेछ, जबकि त्रुटिपूर्ण विवरण भएमा त्यसलाई स्वचालित रूपमा फिर्ता पठाउने व्यवस्था रहनेछ।
नबिल बैंकको तर्फबाट यो इन्टिग्रेशनका लागि विशेष मिडलवेयर प्रणाली विकास गरिएको छ, जसले बीमकहरूले प्राधिकरणमार्फत पठाएका मुद्दती निक्षेप सम्बन्धी विवरणलाई बैंकको कोर बैंकिङ प्रणालीमा प्रत्यक्ष पहुँच प्रदान गर्छ। यसले सही विवरण मात्र स्वीकार गर्ने र त्रुटिपूर्ण विवरणलाई अस्वीकार गर्ने प्रक्रिया स्वतः कार्यान्वयन गर्छ।
यो सम्झौता नेपाल बीमा प्राधिकरणको डिजिटल ट्रान्सफर्मेशन र प्रविधिमैत्री नियमनतर्फको अर्को ठुलो कदम भएको प्राधिकरणले जनाएको छ। कार्यक्रममा उप–निर्देशक राजेन्द्र महर्जन, नबिल बैंकका होलसेल लायबिलिटी प्रमुख लक्ष्मी लामिछाने ढकाललगायत उपस्थित थिए।




