काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको चपेटामा परेको हायात रिजेन्सी होटलले अन्ततः सम्पूर्ण १३३ जना कर्मचारीलाई निष्कासन गरेको छ । आन्दोलनका क्रममा भएको क्षति र होटल मर्मत सम्भारको बोझका कारण व्यवस्थापनले कर्मचारीलाई काममा लगाउन नसक्ने भन्दै मंसिर २२ गतेदेखि लागू हुने गरी श्रम ऐन २०७४ बमोजिम श्रमिक कटौतीको निर्णय गरेको हो ।
मंगलबार राति सूचना जारी गर्दै हायात रिजेन्सीका महाप्रबन्धक आशिष कुमारले होटल सञ्चालनमा नभएको अवस्थामा कर्मचारीलाई तलब दिन असमर्थ रहेको र मर्मत खर्च धान्न आर्थिक स्रोत जुटाउनुपर्ने बाध्यता औंल्याएका छन् । भदौमा भएको जेनजी आन्दोलनका क्रममा हायात होटलमा ठूलो क्षति पुगेको थियो । आन्दोलनकारीले होटलमा तोडफोड गर्दा करोडौं रुपैयाँ बराबरको भौतिक क्षति भएको अनुमान छ ।
क्षतिग्रस्त होटलको मर्मतका लागि ठूलो आर्थिक लगानी आवश्यक पर्ने र यस अवधिमा होटलबाट कुनै आम्दानी नहुने हुँदा कर्मचारीलाई निरन्तरता दिन नसकिने अवस्था आएको व्यवस्थापनको भनाइ छ । कर्मचारी व्यवस्थापन सम्बन्धी विकल्पहरूको सम्बन्धमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनहरूसँग छलफल गरिए पनि कुनै निष्कर्षमा पुग्न नसकिएको विज्ञप्तिमा उल्लेख छ ।




