किरात धर्मगुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्ती: कोशी प्रदेशभर सार्वजनिक बिदा

काठमाडौं । किरात धर्मावलम्बीका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको १४१ औं जन्मजयन्तीको उपलक्ष्यमा कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ । प्रदेश सरकारले फाल्गुनन्दको अतुलनीय योगदानको सम्मान गर्दै यो निर्णय गरेको हो ।

विक्रम संवत् १९४२ कात्तिक २५ गते आइतबार पाँचथरको इम्वुङ्गमा जन्मिएका फाल्गुनन्द लिङदेन एक युगद्रष्टा समाज सुधारक थिए । उनले किराँत धर्मको पुनरुत्थान र समाजमा व्याप्त अन्धविश्वास, विकृति तथा विसंगतिविरुद्ध आवाज उठाउँदै महत्वपूर्ण नीति निर्माण गरे । उनका उपदेशहरू सत्य, अहिंसा, नारी सम्मान र सामाजिक सद्भावमा आधारित छन्, जसले आज पनि उत्तिकै सान्दर्भिकता राख्छन् ।

विसं २००५ मा उनको निधन भए पनि उनका विचार र मार्गदर्शनहरूले किराँत समुदायसहित सिंगो नेपाली समाजलाई प्रेरणा दिइरहेका छन् । नेपाल सरकारले विसं २०६६ मंसिर १६ गते फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरी उनको योगदानलाई राष्ट्रियस्तरमा सम्मान गरेको थियो ।

यस अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुभकामना सन्देश जारी गर्दै फाल्गुनन्दलाई समाज सुधारक, सत्य, अहिंसा र नारी सम्मानका प्रवर्तकका रूपमा स्मरण गरे । मुख्यमन्त्री कार्कीले फाल्गुनन्दको योगदानले सबै जात, भाषा, धर्म र संस्कृतिको संरक्षण र संवर्द्धनमा जोड दिएको बताए । उनले कोशी प्रदेश सरकार सबै भाषा, लिपि र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि संवैधानिक व्यवस्थाअनुसार प्रतिबद्ध रहेको र प्रदेशमा भाषाहरूको प्रयोगलाई प्राथमिकता दिइने विश्वास दिलाए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री