काठमाडौं । शिवम् सिमेन्टले नेपाल विद्युत् प्राधिकरणलाई बक्यौता रकमको पहिलो किस्ता तिरेको छ। मकवानपुरको हेटौँडामा सञ्चालित कम्पनीले डेडिकेटेड र ट्रंक लाइनमार्फत उपभोग गरेको विद्युत् शुल्कको बक्यौता रकम सोमबारदेखि तिर्न सुरु गरेको हो।
प्राधिकरणका अनुसार, शिवम् सिमेन्टले करिब रु ६६ करोड ८९ लाख रुपैयाँ बराबरको बक्यौता रकमलाई २८ किस्तामा तिर्न सहमति जनाएको छ। सो अनुसार कम्पनीले पहिलो किस्ताका रूपमा रु दुई करोड ३८ लाख बुझाएको छ।
विद्युत् महसुलको बक्यौता नतिरेपछि प्राधिकरणले गत कात्तिक ४ गते कम्पनीको लाइन काटेको थियो। पहिलो किस्ता बुझाएसँगै कम्पनीको विद्युत् आपूर्ति पुनः जडान गरिएको छ।
शिवम् सिमेन्टले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड लाइनमार्फत विद्युत् उपभोग गरेको थियो। सो अवधिको प्रिमियम महसुल (dedicated line premium tariff) बक्यौता रकममा पर्ने जनाइएको छ।
नेपाल विद्युत् प्राधिकरणका अधिकारीका अनुसार, शिवम् सिमेन्टसँग बाँकी किस्ता तोकिएको समयमा बुझाइने प्रतिवद्धता गरिएको छ। कम्पनीले बक्यौता भुक्तानी सुरु गरेसँगै प्राधिकरण र उद्योगबीचको विवाद समाधानको दिशामा अघि बढेको बताइएको छ।



