काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मधेश प्रदेश सरकारको मन्त्रीमा नियुक्त पार्टीका सांसद कञ्चन बिच्छालाई तत्काल फिर्ता हुन निर्देशन दिएका छन् । पार्टीलाई जानकारी नै नदिई मन्त्री बनेका बिच्छालाई तत्काल सरकारबाट फिर्ता नभए कारबाही गर्ने अध्यक्ष लिङ्देनले चेतावनी दिएका हुन् ।
नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवको मन्त्रिमण्डलमा राप्रपा सांसद बिच्छाले आज बिहान मन्त्रीको शपथ लिएका हुन् । अध्यक्ष लिङ्देनले उनलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिए । राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो अनुशासनको गम्भीर उल्लंघन हो । राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ । अन्यथा विधानबमोजिम कारबाही हुने जानकारी गराउँछु ।’
मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा एमालेको संसदीय दलका नेता सरोजकुमार यादवलाई आज बिहान सबैरै मुख्यमन्त्री पदमा नियुक्ति गरिन् । लगत्तै मुख्यमन्त्री यादवले राप्रपाबाट बिच्छासहित एमालेबाट लखन दास र संघीय समाजवादीबाट विमला अन्सारीलाई मन्त्री बनाए । उनीहरूको मन्त्रालय भने तोक्न बाँकी छ ।




