काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरको सञ्चार सेवा र इन्टरनेटको गुणस्तर तत्काल सुधार गर्न नेपाल टेलिकमलाई कडा निर्देशन दिएका छन् । अधिकांश स्थानमा मोबाइल नेटवर्कको कमजोर अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै मन्त्री खरेलले कभरेज विस्तार र बिग्रिएका साइटहरूको तत्काल मर्मत गर्न टेलिकम नेतृत्वलाई आग्रह गरेका हुन् ।
आइतबार टेलिकमका पदाधिकारीहरूसँगको छलफलमा मन्त्री खरेलले जनताले गुणस्तरीय सेवा पाउनुपर्ने आफ्नो आधारभूत अधिकार भएको बताउँदै नेटवर्क नआउने गुनासो मन्त्री र सचिवसम्म आउनु ‘विडम्बना’ भएको टिप्पणी गरे। उनले भने, “देशका अधिकांश ठाउँमा नेटवर्क टिपेन भन्ने समस्या आउँछ। हामीले कभरेजको विषयमा ध्यान पुर्याउनुपर्यो।”
मन्त्री खरेलले टेलिकमको ढिलासुस्तीप्रति असन्तुष्टि व्यक्त गर्दै निजी सेवा प्रदायकले एक दिनमै गर्न सक्ने काम टेलिकमले महिना दिनसम्म पनि किन गर्न नसकेको भन्दै प्रश्न गरे। “१ हजार २ सय टावरको टेन्डर किन भएन? २ सय टावरको टेन्डर प्रक्रिया कहाँ पुग्यो? बिग्रिएका साइटहरूको मर्मतको सवालमा कहाँ छौं हामी?” उनले थपे, “ग्राहकले कल र डाटा प्रयोग गरेबापत पैसा तिरेको छ। उसलाई गुणस्तरीय सेवा दिनु तपाईंहरूको दायित्व हो।”
उनले टेलिकमको गुनासो सुन्ने शाखा ‘मृतप्रायः’ भएको भन्दै त्यसलाई तत्काल प्रभावकारी बनाउन निर्देशन दिए। मन्त्री खरेलले गुनासो शाखामा आउनुपर्ने गुनासो मन्त्री र सचिवलाई आउनु कदापि उचित नभएको बताए।
सरकार टेलिकमको लागि आवश्यक कार्यविधि बनाउन लागिपरेको जानकारी दिँदै मन्त्री खरेलले टेलिकमको हरेक काम कारबाहीमा पारदर्शिता अपनाउन समेत निर्देशन दिए। उनले नेटवर्कको कभरेज बढाउने र सेवाको गुणस्तर सुधार गर्ने विषयमा टेलिकमलाई गम्भीर भएर लाग्न चेतावनी दिए ।




