काठमाडौं । गुल्मीको मालिका गाउँपालिका-३ म्यालमा पारिवारिक विवादले उग्र रूप लिँदा एक युवकले आफ्नै बुवाको हत्या गरेका छन् भने आमालाई गम्भीर घाइते बनाएका छन् । प्रहरीका अनुसार, २३ वर्षीय भोटबहादुर बिकले हिजो साँझ धारिलो हतियार (हँसिया) र काठको मुंग्रो प्रहार गरी करिब ५० वर्षीय बुवा धनबहादुर बिकको घटनास्थलमै ज्यान लिएका हुन् ।
उनकी ४८ वर्षीया आमा दिलमाया बिकमाथि पनि आक्रमण गर्दा उनी सख्त घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुका अनुसार, घाइते दिलमायालाई तत्काल जिल्ला अस्पताल तम्घास लगिए पनि अवस्था गम्भीर रहेकाले थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी अर्खवाङ्गबाट प्रहरी सहायक निरीक्षक मानबहादुर घर्तीको टोली घटनास्थलमा खटिएको थियो । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा अर्को टोली पनि घटनास्थलमा पुगेको छ । प्रहरीले आक्रमणकारी छोरा भोटबहादुर बिकलाई नियन्त्रणमा लिएको छ ।
घटनास्थलमा मृतक धनबहादुर बिकको शवको मुचुल्का गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास पठाइएको छ ।




