जाँचबुझ आयोग सदस्य र सुदूरपश्चिमका पूर्व मुख्यमन्त्रीबीच भनाभन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका क्षति सम्बन्धमा जानकारी संकलन गर्न धनगढी पुगेको जाँचबुझ आयोगका सदस्य विश्वेश्वर प्रसाद भण्डारी र सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलबीच भनाभन भएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियो अनुसार, भीमदत्त नगरपालिकामा आयोजित कार्यक्रममा आयोगको टोलीले सरोकारवालासँग छलफल गर्न खोज्दा रावल आक्रोशित देखिएका थिए। जेनजी आन्दोलनको क्रममा आफ्नो घर जलेको र अहिले बालबच्चाको बिजोग भएको भन्दै उनले आयोगका सदस्यमाथि आक्रोश पोखेको भिडियोमा देखिन्छ ।

यस विवादका कारण कार्यक्रम सुरु हुनुअघि नै वातावरण तनावपूर्ण बनेको थियो । स्टेजमै रावल र सदस्य भण्डारीबीच भनाभन चलेको थियो । विवादपछि अधिकांश जनप्रतिनिधि बैठकबाट बाहिरिएका थिए। एमालेका प्रतिनिधिहरूले बैठक बहिष्कार गरेका थिए भने कांग्रेसका केही नेताहरू पनि उपस्थित थिएनन्।

जाँचबुझ आयोगको सचिवालयका अनुसार, गत भदौ २२ र २३ गतेको घटनासँग सम्बन्धित बैठक बिहीबार दिउँसो डाँकिएको थियो । बैठकमा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, जेनजी आन्दोलनबाट क्षति भएका नेता लगायतलाई बोलाइएको थियो।

आयोगका अध्यक्ष गौरीबहादुर कार्की र अन्य दुई सदस्य यसै समयमा देशभर सूचना संकलनका लागि हिँडेका थिए । यस क्रममा भण्डारी बिहीबार धनगढी पुगेका थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री