पाल्पामा विद्युतीय गाडी दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ पिपल भञ्ज्याङ्मा दिउँसो एउटा विद्युतीय गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। अमलावासबाट मेहलढापतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नम्बरको गाडी सडकबाट तल खोल्सामा खसेको थियो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल प्रधानका अनुसार दुर्घटनामा परी चालकसहित तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो। ज्यान गुमाउनेहरूमा छहरा अमलावासका ३४ वर्षीय चालक कमल रायमाझी, रैनादेवी छहरा– १ सिद्धेश्वरका ३७ वर्षीय मुक्तबहादुर बुढाथोकी र छहरा–४ मेहलढापका ४१ वर्षीय रामबहादुर गाहा रहेका छन्।

दुर्घटनालगत्तै स्थानीय र प्रहरीको सहयोगमा घाइतेहरूलाई जिल्ला अस्पताल पाल्पा पठाइएको थियो, तर चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार गाडीमा तीन जना मात्र सवार रहेका थिए।

दुर्घटनाको कारण अझै खुल्न सकेको छैन। सडकदेखि निकै तल खसेको गाडीको अवस्था हेर्दा दुर्घटना निकै भीषण रहेको अनुमान गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री