काठमाडौं । डोटीमा एक शिक्षिका रहस्यमय ढंगले मृत भेटिएको घटनाले नयाँ मोड लिएको छ । पूर्वीचौकी गाउँपालिका-१ तल्लो फुलौटकी २७ वर्षीया शिक्षिका जानकी खड्काको ‘आत्महत्या’ प्रकरणमा जिल्ला प्रहरी कार्यालय डोटीले शिक्षा तथा समन्वय एकाइ डोटीका विद्यालय निरीक्षक (विनि) २८ वर्षीय गणेश रावललाई पक्राउ गरेको छ ।
मृतक पक्षले दिएको किटानी जाहेरीका आधारमा शिखर नगरपालिका-११ घर भएका रावललाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पालले जानकारी दिए । बाजुराको बुढीगंगा नगरपालिका-५ स्थित भानुदय नमुना माध्यमिक विद्यालयमा गणित शिक्षिकाका रूपमा कार्यरत खड्का सोमबार दिउँसो घरबाट सम्पर्कविहीन भएकी थिइन् । त्यसको केही घण्टापछि घर नजिकै करिब ७०० मिटरको दूरीमा उनलाई झुन्डिएको अवस्थामा मृत फेला पारिएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले शिक्षिका खड्काको सुत्ने कोठाबाट एउटा सुसाइड नोट बरामद गरेको छ । मोबाइलको कभर पछाडि भेटिएको उक्त नोटले घटनाको रहस्य उजागर गरेको छ । सुसाइड नोटमा खड्काले गणेश रावलसँग सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भएकाे तर, रावलले दिएको मानसिक तनावका कारण आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेकी छिन् ।
सुसाइड नोटमा लेखिएको छ, ‘अहिलेसम्म ड्याडी-मम्मीको इज्जत र खुसी सम्झेर बसेकी थिएँ । आज मलाई जिन्दगीले अनौठो मोडमा ल्याएर उभ्याइदियो । सो सरी भाइ मेरो कारण तिमीलाई र ड्याडीलाई यत्रो महिना तनाव भयो । के गरुँ भाइ, गणेश रावलले आफैं फ्रेन्ड रिक्वेस्ट पठाएको हो । न मैले उसलाई भेटेको छु न देखेको छु । सबै उसका नाटक हुन् मलाई फसाउने ।’
खड्काले आफ्ना बुवा, आमा र भाइलाई सम्बोधन गर्दै रावलसँग फोनमा कुराकानी गर्नु आफ्नो गल्ती भएको स्वीकारेकी छि न्। उनले बुवाआमाको इज्जत गुमाएर कसैको श्रीमान् र बुवा भइसकेको मान्छेसँग जीवन जिउन नसक्ने कुरा स्पष्ट पारेकी छिन् । ‘मेरो आयु यत्ति नै रहेछ, के गरुँ भाइ ? बाबाआमाको इज्जत गुमाएर, तिमीहरूलाई नराम्रो संस्कार सिकाएर कसैको श्रीमान् र बुवा भइसकेको मान्छेसँग जीवन जिउन सक्दिनँ,’ सुसाइड नोटमा उल्लेख छ ।
जानकी खड्का परिवारकी जेठो सन्तान थिइन् र सिंगो परिवार उनकै आयस्रोतमा आश्रित थियो । दुई वर्षअघि निमावि तहको गणित विषयको स्थायी शिक्षक सेवा पास गरेर सरकारी सेवा प्रवेश गरेकी उनी परिवारको मूल खम्बा थिइन् ।
मृतकका भाइ प्रदीप खड्काका अनुसार, बुवा रक्तचाप र आमा माइग्रेनको बिरामी भएकाले परिवारको आर्थिक भार जानकीमाथि थियो । ‘हामी मध्यमवर्गीय परिवार हो। दिदीकै आयस्रोतको भरमा थियौँ । हाम्रो परिवारको खम्बा ढल्यो । दोषीलाई कारबाही गरी दिदीको आत्मालाई न्याय दिनुपर्छ,’ प्रदीपले पीडा पोखे ।
प्रदीपले गणेश रावलले आफूलाई समेत फोन गरेर दिदीसँग विवाह गर्ने वातावरण बनाउन आग्रह गरेको र त्यसो नभए ज्यान मार्ने धम्की दिएको दाबी गरेका छन् । रावलको दबाबमा परिवारसँग विवाहको कुरासमेत चलाएको उनले बताए।
प्रहरी अनुसन्धानबाट खुल्न आएअनुसार, पक्राउ परेका गणेश रावल यसअघि नै विवाहित थिए र उनका सन्तान पनि छन् । उनले आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद गरिसकेका भए पनि जानकीमाथि विवाह गर्न निरन्तर दबाब दिइरहेको प्रहरीले जनाएको छ । डीएसपी दीपेन्द्र पालले रावलले यसअघि नै विवाह गरेको कुरा बुझिएको बताउँदै घटनाको थप अनुसन्धान जारी रहेको जानकारी दिए ।
सुसाइड नोट र परिवारको बयानका आधारमा प्रहरीले रावलमाथि ‘आत्महत्या दुरुत्साहन’ मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ ।




