महान्यायाधिवक्ताको कार्यालयद्वारा आगजनी गर्नेविरुद्ध प्रहरीमा जाहेरी

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी गर्नेहरूमाथि प्रहरीमा जाहेरी दिएको छ ।

आगजनी, तोडफोडमा संलग्नहरूको पहिचान गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन भन्दै संस्थागत रूपमा काठमाडौँ प्रहरी परिसरमा जाहेरी दिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए ।

भदौ २४ को घटना किन र के उद्देश्यले गरियो र लुटपाट भएका सामान फिर्ता ल्याउन पनि जाहेरी आवश्यक रहेको न्यौपानेले बताए । प्रदर्शनका क्रममा २१ वटा जिल्ला सरकारी वकिल कार्यालयमा आगजनी र क्षति पुगेको थियो । न्यौपानेका अनुसार मातहत रहेका सबै जिल्ला सरकारी वकिल कार्यालयले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा यो साताभित्र सबै प्रमाण संकलन गरेर जाहेरी दर्ता गर्नेछन् ।

प्रहरीले जेनजी आन्दोलनका क्रममा आपराधिक क्रियाकलाप र तोडफोड गर्नेहरूको ३६ हजार भिडियो सङ्कलन गरेर प्रमाणको रूपमा राखेको जनाएको छ । प्रहरीले जेनजी आन्दोलनको दोस्रो सातापछि विभिन्न फुटेज सङ्कलन गरेर आगजनी गर्नेहरूको पहिचान गर्दै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

महान्यायाधिवक्ता कार्यालयले संस्थागत रूपमा प्रहरीमा जाहेरी दर्ता गराएपछि सर्वोच्च अदालतले पनि संस्थागत रूपमा भदौ २४ गते सर्वोच्च अदालतमा भएको आगजनी र तोडफोडको अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिन लागेको छ ।

सर्वोच्च अदालतको आइतबार बसेको फुलकोर्ट बैठकले अदालतमा भएको आगजनी र तोडफोडको विषयमा संस्थागत रूपमा जाहेरी दिने निर्णय गरेसँगै अबको दुई दिनभित्र सम्पूर्ण प्रमाण संकलन गरेर प्रहरीमा जाहेरी दर्ता गर्न लागेको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए ।

आगजनीबाट सर्वोच्च अदालतका भवनसँगै ४२२ वटा सवारीसाधान, ९ लाख ३३ हजार ८२३ वटा मुद्दाका मिसिलमा क्षति पुगेको छ ।

भदौ २४ को आगजनीले सर्वोच्च अदालतको ९० प्रतिशत फाइल जलेर नष्ट भएको थियो भने काठमाडौं जिल्ला अदालतको नयाँ भवन आगजनीका कारण भत्काउनुपर्ने अवस्था छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री