लहानमा कुटपिटबाट ५० वर्षीया महिलाको मृत्यु

लहान । सिराहाको लहान नगरपालिका-५ खुट्टीखोला नजिकै पर्तीटोलमा पसलको सामान चोरीको निहुँमा भएको कुटपिटका कारण एक महिलाको ज्यान गएको छ । आज बिहान भएको कुटपिटबाट गम्भीर घाइते भएकी स्थानीय मो सदिक मियाँकी पत्नी करिब ५० वर्षीया नुरजहाँ खातुनको उपचारका क्रममा मृत्यु भएको हो ।

स्थानीयले घाइते खातुनलाई लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार मृतकको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

प्रहरीले कुटपिटमा संलग्न रहेको आरोपमा तीन महिलासहित चार जनालाई नियन्त्रणमा लिएको छ । खातुन खुट्टी खोला किनारमा छठ पूजा घाट नजिकै खुद्रा किराना पसल सञ्चालन गर्दै आएकी थिइन् ।

स्थानीयका अनुसार, आज बिहान एक युवकले पसलबाट सामान चोरी गरेको भन्दै खातुनले युवकका हजुरबालाई गुनासो गरेकी थिइन् । त्यसपछि ‘मेरो नातिलाई चोरको आरोप लगाउने’ भन्दै युवकका परिवारका सदस्यहरूले खातुनमाथि निर्घात कुटपिट गरेका थिए । प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री