काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्मजयन्तीको अवसरमा सयपत्री प्रतिष्ठान नेपालले विभिन्न रचनात्मक कार्यक्रमहरूको आयोजना गर्दै शिक्षा र साहित्य क्षेत्रका विशिष्ट जोडीहरूलाई ‘सयपत्री राष्ट्रिय सम्मान-२०८२’ ले सम्मान गरेको छ ।
यस वर्षको सम्मान शिक्षाविद् तथा वरिष्ठ साहित्यकार डा. रामप्रसाद दाहाल र उनकी धर्मपत्नी चन्दा दाहाल कोइरालालाई प्रदान गरियो । विगत चार दशकदेखि शिक्षा र साहित्यको क्षेत्रमा पुर्याएको निरन्तर योगदानको उच्च कदर गर्दै यो सम्मान अर्पण गरिएको हो ।
त्यस्तै, पनौती निवासी कवि तथा वरिष्ठ चिकित्सक डा. अनन्तप्रसाद अधिकारी र उनकी धर्मपत्नी नर्मदा खनाल अधिकारीलाई पनि उनले स्वास्थ्य क्षेत्रमा पुर्याएको २० वर्ष लामो सेवाको मूल्यांकन गर्दै सम्मानित गरियो । प्रतिष्ठानले २०५५ सालदेखि निरन्तर रूपमा यो सम्मान प्रदान गर्दै आएको छ । यसअघि राष्ट्रकवि माधव घिमिरे, कवि बैरागी काइँला लगायत राष्ट्रका विशिष्ट व्यक्तित्वहरूलाई यस सम्मानले विभूषित गरिसकेको छ ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठ, चन्द्रबहादुर खड्का लगायतले स्थानीय सामाजिक, सांस्कृतिक र साहित्यिक गतिविधिबारे प्रकाश पारे । वरिष्ठ साहित्यकार तथा सामाजिक अभियन्ता मोहन दुवालले सम्मानित व्यक्तित्वहरूको जीवनी, कृतित्व र व्यक्तित्वको विस्तृत परिचय प्रस्तुत गरे । उनले श्रीमानको कार्यमा श्रीमतीको सहयोग र योगदान उल्लेखनीय हुने भएकाले प्रतिष्ठानले श्रीमतीसहितको जोडीलाई लामो समयदेखि सम्मान गर्दै आएको बताए ।
वरिष्ठ साहित्यकार प्रा.डा. रामप्रसाद ज्ञवालीले महाकवि देवकोटाको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पारे । सम्मानित व्यक्तित्व डा. दाहालले यस किसिमको सम्मानले आफूलाई अझै क्रियाशील भएर राष्ट्रसेवामा जुट्न प्रेरणा मिलेको उल्लेख गरे । कार्यक्रममा शारदा घिमिरे भैला, रामहरि न्यौपाने, मक्षेश्वर सापकोटा, श्यामसुन्दर लगायत एक दर्जन कविहरूले समसामयिक विषयमा कविता वाचन गरे। शालीन, भव्य र सभ्य रूपमा सम्पन्न भएको सो कार्यक्रमको सभापतित्व वरिष्ठ साहित्यकार मोहन दुवालले गरेका थिए ।




