काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र कारागारबाट भागेका कैदी आगामी चुनावमा प्रयोग नगर्ने प्रतिबद्धता दलहरूले जनाउनुपर्ने अभिव्यक्ति दिएपछि नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले कडा आपत्ति जनाएका छन्।
पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख समेत रहेका विश्वकर्माले गृहमन्त्रीको पछिल्लो भनाइप्रति सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि व्यक्त गरे। उनले लेखेका छन्, ‘यिनी गृहमन्त्री नै हुन्? कि यिनको मुखबाट अरू कोही बोल्दैछ? आक्रमण, आगजनी, तोडफोड र लुटपाटको बलमा आफैँ मन्त्री हुने! भागेका कैदीबन्दी, लुटिएका हतियार र प्रहरीका बर्दी नखोज भन्ने अनि चुनावमा प्रयोग नगर्ने प्रतिबद्धता चाहिँ दलहरूले गरिदिनु पर्ने? विचरा।’
आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले निर्वाचनको वातावरण निर्माण गर्न दलहरूले समाजमा रहेका अपराधीहरूलाई दुरुपयोग नगर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताएका थिए। गृहमन्त्रीको यसै भनाइलाई लिएर विश्वकर्माले नैतिकता र दोहोरो मापदण्डको प्रश्न उठाएका हुन्।




