काठमाडौं । आज कार्तिक कृष्ण त्रयोदशी, यमपञ्चकको पहिलो दिन। देशभर यमराजका दूत कागलाई मीठोमीठो परिकार खुवाएर काग तिहार पर्व मनाइँदैछ। बिहानैदेखि कागलाई आह्वान गरी पूजाअर्चनासहित भोजन गराउने क्रम जारी छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार सूर्योदयकालमा त्रयोदशी तिथि परेकाले शास्त्रसम्मत रूपमा आजै काग तिहार मनाउनुपर्ने निर्णय गरिएको हो। परम्परागत मान्यताअनुसार, यमराजले लोकका समस्त खबर कागका माध्यमबाट प्राप्त गर्ने भएकाले कागलाई यमदूतका रूपमा पूजिन्छ। मानिसहरूले कागलाई खुसी पारेर यमराजसमक्ष राम्रो खबर पुर्याइदिने कामना गर्छन्।
लोकव्यवहारमा पनि काग घरमा आएर कराउँदा ‘शुभ बोल, शुभ बोल’ भन्ने चलन छ। कागले कुनै खबर लिएर आएको विश्वास गरिन्छ। ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मनपर्ने भएकाले आजका दिन विशेष गरी दही भात खुवाउने प्रचलन छ। यसले यमराजसमक्ष सकारात्मक सन्देश पुर्याउने धार्मिक विश्वास छ।
काग तिहारको अवसरमा कागेश्वरी मनोहरा नगरपालिका-१ स्थित प्रसिद्ध कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा आराधनाको आयोजना गरिएको छ। त्यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा रहेको कागको विशाल मूर्तिको पनि विशेष पूजा गरिन्छ।
तिहार पर्व दुष्कर्म गर्नेलाई यमराजका रूपमा दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराजका रूपमा रक्षा गर्ने विश्वाससँग पनि जोडिएको छ। यमयातनाबाट मुक्ति पाउनका लागि परिवारका सदस्यहरूको नाममा शनिबार साँझदेखि नै यम दीपदान सुरु गरिएको छ। वैदिक सनातन शास्त्रीय विधिअनुसार दक्षिण फर्काएर यम दीपदान गर्दा यमयातनाबाट मुक्ति पाइने मान्यता छ।
यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक शनिबार साँझदेखि नै सुरु भएको हो। लक्ष्मीलाई घरमा स्थिर राख्ने उद्देश्यले गरिने धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ। यस दिन गरगहना तथा तामाका भाँडाकुँडा खरिद गर्दा घरमा लक्ष्मीको वास हुने धार्मिक विश्वास छ।
यसैबीच, बिहानैदेखि काठमाडौंका विभिन्न स्थानमा कागलाई भोजन गराउँदै गरेको दृश्य देखिएको छ। मानिसहरूले आफ्ना घरका कौसी, छत र आँगनमा कागका लागि खानेकुरा राखेर पूजा गरिरहेका छन्।




