काठमाडौं । हमासको आक्रमणपछि गाजामा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शव फरेन्सिक परीक्षणबाट पुष्टि भएको छ । सोमबार राति हमासले इजरायललाई हस्तान्तरण गरेका चार शवमध्ये एक विपिनको भएको इजरायली सेनाले पुष्टि गरेको हो ।
इजरायली सेनाका अनुसार, तेल अभिभस्थित अबु काबिर फरेन्सिक संस्थानले गहन अनुसन्धानपछि चारैजनाको शवको पहिचान गरेको छ । यसबारे विपिनको परिवारलाई जानकारी गराइएको छ । सेनाले अनुसन्धान पूरा भएपछि उनीहरूको मृत्युको कारण र अवस्थाबारे थप विवरण सार्वजनिक गर्ने बताएको छ ।
विपिनका दाजु किशोर जोशीले भने, ‘विपिनको शव पहिचान भएको खबर पाएका छौं । नेपाल कहिले आउँछ भनेर मिति दिएको छैन । आवश्यक प्रक्रिया पूरा भएपछि खबर गर्छौं भनेका छन् ।’
इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टले उनको सन् २०२३ को अन्त्यतिर नै मृत्यु भइसकेको देखाएको छ ।
‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमासले २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट बन्धक बनाएर लगेको थियो । सोही दिन हमासको बर्बर आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए ।
बन्धक बनाइएको बेला विपिनको टाउको छोपेर अस्पतालभित्र लगिरहेको भिडियो सार्वजनिक भएपछि उनको अवस्थाबारे विश्वभर चासो बढेको थियो । तर त्यसयता उनको बारेमा कुनै ठोस जानकारी सार्वजनिक भएको थिएन, जसले परिवारलाई लामो समयसम्म पीडादायी अनिश्चिततामा राखेको थियो ।




