काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुँदैछ । यो बैठक सभापति शेरबहादुर देउवाका लागि व्यक्तिगत र राजनीतिक दुवै हिसाबले महत्त्वपूर्ण मानिएको छ, किनकि उनी झन्डै एक महिनाअघि जेनजी आन्दोलनका क्रममा भएको आक्रमणपछि पहिलोपटक सार्वजनिक रूपमा देखा पर्दैछन् ।
भदौ २४ गते प्रदर्शनकारीको आक्रमणमा परी घाइते भएका देउवा स्वास्थ्यलाभपछि आज पहिलोपटक सार्वजनिक हुँदैछन् । यसअघि उनी बैठकमा नआउने र उपसभापति पूर्णबहादुर खड्काले सभापतित्व गर्ने अनुमान गरिए पनि अन्तिममा देउवा आफैँ आउने निर्णयमा पुगेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए । आजदेखि सुरु हुने केन्द्रीय समिति बैठक देउवाको जीवनकै सबैभन्दा पेचिलो बैठक हुने आकलन गरिएको छ । पार्टीभित्र अहिले ‘विशेष महाधिवेशन कि नियमित महाधिवेशन’ भन्ने बहस तीव्र रूपमा चुलिएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएका छन्, जबकि सभापति देउवा पक्ष भने मंसिरमा महाधिवेशन सम्भव नभएको र आगामी वैशाखमा मात्र गर्न सकिने पक्षमा छ । देउवा पक्ष मंसिरमा नियमित महाधिवेशनमा जान नचाहेपछि महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाएका छन् । नेता गुरुराज घिमिरेका अनुसार अहिलेसम्म करिब ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको मागमा हस्ताक्षर गरिसकेका छन् । यी हस्ताक्षर केन्द्रीय समिति बैठकअघि नै बुझाउने तयारी छ। विधानअनुसार, ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाएर माग गरेमा सभापतिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ ।
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूको संख्या बढ्दै गएपछि सभापति देउवा, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, प्रवक्ता प्रकाशशरण महतलगायतका नेताहरूले फोनमार्फत हस्ताक्षर फिर्ता लिन दबाब दिएका थिए । यद्यपि, केही सीमित प्रतिनिधि (कैलालीका ४, डडेलधुराका १ र जाजरकोटका १) बाहेक अधिकांशले हस्ताक्षर फिर्ता नलिएको बताइएको छ । महामन्त्री गगन थापाले अब बस्ने केन्द्रीय समिति बैठकमा यो कार्यसमितिको म्याद थप गर्ने प्रस्ताव नल्याउने स्पष्ट पारेका छन्। २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनपछि पार्टीको नियमित ४ वर्षे कार्यकाल मंसिरमा सकिँदैछ । यसैले थापा र शर्मासहित नेता शेखर कोइराला पक्ष मंसिरभित्रै नियमित महाधिवेशनको पक्षमा दृढ छन् ।
संस्थापन पक्ष विशेष महाधिवेशनले पार्टी कमजोर बनाउने र विभाजन निम्त्याउने दाबी गर्दछ भने महामन्त्री थापा र शर्मा निकट पक्ष यसले पार्टीलाई कमजोर नभई बलियो बनाउने तर्क गर्छन् । यस्तो विषम परिस्थितिमा देउवाले आफैँ एकताको आह्वान गर्दै नियमित महाधिवेशन गराउने निर्णय सुनाउँछन् वा उनलाई हटाउन सक्ने विशेष महाधिवेशनको बाटो खुल्छ, त्यो आजको केन्द्रीय समिति बैठकले तय गर्नेछ ।




