काठमाडौं । आज दुई प्रमुख दल नेकपा (एमाले) र नेपाली कांग्रेसका महत्वपूर्ण बैठकहरू बस्दैछन् । दुई ठूला दलको बैठकले मुलुकको आगामी राजनीतिक दिशा निर्धारणमा भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
एमालेको सचिवालय बैठक आज बस्दैछ। एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार, आजको बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्नेछ । साथै, असोज २७ देखि २९ गतेसम्म बस्ने तय भएको केन्द्रीय समिति बैठकका एजेन्डाबारे पनि छलफल हुनेछ ।
यसअघि आइतबारका लागि तय गरिएको बैठक अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण स्थगित भएको थियो। यसअघि एमाले सचिवालय बैठक असोज १२ गते बसेको थियो । बैठकले आसन्न निर्वाचन र समसामयिक राजनीतिक परिस्थितिबारे गहन समीक्षा गर्ने अपेक्षा गरिएको छ ।
यसैगरी, नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज पनि पार्टी कार्यालय सानेपामा दिउँसो १ बजेबाट सुरु हुनेछ । हिजो बसेको बैठकमा अधिकांश नेताहरूले आगामी मंसिरभित्रै विधि प्रक्रिया पूरा गरेर महाधिवेशन गर्नतर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका थिए ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको अवस्थामा सबै दलहरूबिच समान धारणा बनाउन आवश्यक रहेको निष्कर्ष बैठकले निकालेको जानकारी दिएका थिए । आजको बैठकले असोज २६ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकका एजेन्डाहरू तय गर्नेछ। कांग्रेसको यो बैठकले पार्टीको आन्तरिक जीवन र राष्ट्रिय राजनीतिका विषयमा महत्वपूर्ण निर्णय लिने अनुमान गरिएको छ ।
दुई प्रमुख दलका यी बैठकहरूले आगामी राजनीतिक मार्गचित्र कोर्नुका साथै आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूको तयारीमा थप स्पष्टता ल्याउने विश्वास गरिएको छ ।




