देशभर बदली, पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी वायु, मनसुनी वायु तथा स्थानीय वायुको कमजोर प्रभावका कारण देशभरको मौसममा आंशिक बदली देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरैजसो स्थानमा पश्चिमी वायुको प्रभाव रहेको छ भने गण्डकी प्रदेशको पश्चिमी भूभागमा पनि यसको आंशिक प्रभाव परेको छ । बाँकी भूभागमा मनसुनी तथा स्थानीय वायुको कमजोर प्रभाव कायम छ ।

हाल देशका पहाडी भूभागमा आंशिक बदली छाएको छ भने तराईका भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । यसैगरी, कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भने हल्का वर्षाको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ ।

देशभर बदली र केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेकाले यात्रा गर्दा वा बाहिर निस्कँदा सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री