देउवा अनुपस्थित हुने भएपछि कांग्रेस पदाधिकारी बैठक खड्काको अध्यक्षतामा बस्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बस्ने पार्टीको पदाधिकारी बैठकमा सहभागी नहुने भएका छन् । देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक बस्ने भएको हो ।

बैठक ललितपुरको एक होटलमा दिउँसो १ बजेका लागि तय भएको छ । जेनजी आन्दोलनपछि देउवा पार्टीका प्रत्यक्ष बैठकहरूमा सहभागी भएका छैनन् । यद्यपि, उनले केही नेताहरूसँग भर्चुअल माध्यमबाट भने छलफल गरेको पार्टी स्रोतले जनाएको छ ।

गत भदौ २४ गते, दुई दिने जेनजी आन्दोलनको दोस्रो दिन, देउवा र उनकी पत्नी आरजु राणामाथि बुढानीलकण्ठस्थित निवासमै कुटपिट भएको थियो ।

घटनामा देउवा निवासमा आगजनीबाट ध्वस्त भएपछि उनीहरू हाल ललितपुरमा बस्दै आएका छन्, तर उनीहरूको हालको बसोबास स्थानबारे विस्तृत जानकारी गराइएको छैन । आजको पदाधिकारी बैठकमा आगामी असोज २६ गते बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डाहरूमाथि छलफल हुने नेताहरूले बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री