काठमाडौं । दोलखाको विगु गाउँपालिका-१ लप्चीस्थित खराने खोलामा खसेको भीषण पहिरोले ६ जना पर्यटक अलपत्र परेका छन् । चीनको सिमाना नजिक रहेको पर्यटकीय गन्तव्य लप्ची जाने एक मात्र पैदलमार्ग अवरुद्ध भएपछि चार विदेशी पर्यटक र उनीहरूका दुई नेपाली गाइड लप्चीमै रोकिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोका अनुसार लप्ची पुगेर फर्कने क्रममा रहेका यी पर्यटकहरू पहिरोका कारण अड्किएका हुन्। उनीहरूलाई हाल पहिरोस्थल भन्दा माथि नासा हाइड्रोपावरको सुरक्षित स्थानमा राखिएको छ। डिएसपी महतोले भने, “लामाबगर–खरानेखोला हुँदै लप्ची पैदल जाने बाटो पहिरोमा परेको छ। हामीले उहाँहरूलाई अँध्यारोमा नहिँड्न र मौसमको समेत ख्याल गरेर हिँड्न सुझाव दिएका छौँ।”
बौद्ध गुम्बा र मेडिटेशन सेन्टरका लागि प्रख्यात लप्ची, विदेशी पर्यटकका साथै नेपालीहरू माझ पनि लोकप्रिय गन्तव्य हो। पर्यटकीय सिजन भएकाले यस क्षेत्रमा घुम्न जानेहरूको चहलपहल बाक्लो थियो। तर, पहिरोका कारण अहिले सो क्षेत्रतर्फको यात्रामा रोक लगाइएको प्रहरीले जनाएको छ। प्रहरीले सम्भावित जोखिमबाट बच्नका लागि उज्यालोमा मात्र यात्रा गर्न र मौसमको अवस्थालाई ध्यान दिन सबैलाई अनुरोध गरेको छ।




