धनगढी । दार्चुलामा आइतबार साँझ भएको एक जिप दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् । महाकाली नगरपालिका-६ को भित्री सडकखण्डमा बागमती प्रदेश ०३-००१ ज ०२०६ नम्बरको जिप दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी महाकाली नगरपालिका–६ का २८ वर्षीय नरेश बहादुर पालको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका पालको जिल्ला अस्पतालमा उपचारका क्रममा निधन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जानकारी दिए ।
दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । अन्य सामान्य घाइतेहरू भने उपचारपश्चात् डिस्चार्ज भइसकेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




