देशभर असिम झरी : ४ दिनसम्म ५ प्रदेशमा यात्रामा सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी चार दिनसम्म (असोज १७ गते शुक्रबारदेखि २० गते सोमबारसम्म) कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अत्यावश्यक कामबाहेक लामो यात्रा नगर्न विशेष अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागले यी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षाको सम्भावना रहेको भन्दै सूचना जारी गरेपछि प्राधिकरणले सम्भावित जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आह्वान गरेको हो।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार, अत्यन्त जरुरी अवस्थामा बाहेक यो अवधिमा यात्रा नगर्न आग्रह गरिएको छ। बागमती, कमला र कोशी नदीमा पानीको बहाव खतराको तह आसपास पुग्न सक्ने अनुमान गरिएकोले विशेष सतर्कता अपनाउन भनिएको छ।

प्राधिकरणले जारी गरेको विज्ञप्तिअनुसार, बागमती प्रदेशको काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन; कोशी प्रदेशको संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ; र मधेश प्रदेशको बारा, पर्सा, सर्लाही, रौतहट तथा आसपासका जिल्ला भई बग्ने स-साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहेको छ।

  • यात्रामा सावधानी: अत्यन्त जरुरी नभई घरदेखि टाढा र विशेष गरी रातिको समयमा यात्रा नगर्नुहोस् ।

  • सवारी सञ्चालन: सम्बन्धित जिल्ला विपत् व्यवस्थापन समितिले वर्षा एवं बाटोको अवस्था हेरी सवारी सञ्चालनमा रोक लगाउनेबारे निर्णय लिन सक्ने भएकाले सो निर्णयको पालना गर्नुहोस् ।

  • बस्तीमा सतर्कता: पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउनुहोस् ।

  • सुरक्षित स्थानको जानकारी: डुबान हुने बस्तीका बासिन्दाले सुरक्षित र अग्लो स्थानबारे जानकारी लिई अरूलाई पनि जानकारी दिनुहोस् र आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जान तयारी गर्नुहोस् ।

प्राधिकरणले तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जोखिमयुक्त राजमार्ग र सडकमा तुरुन्त परिचालन हुने गरी डोजर, एक्स्काभेटर, लोडर लगायतका साधन तयारी अवस्थामा राख्न पनि भनिएको छ।

यसका साथै, पूर्वतयारी, पूर्वकार्य एवं प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरूलाई जिल्ला विपत् व्यवस्थापन समिति र स्थानीय विपत् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्ट) मा रहन पनि प्राधिकरणले ध्यानाकर्षण गराएको छ। मौसम विज्ञान विभागको पछिल्लो बुलेटिन अनुसार, देशभरको मौसम बदली भई अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री