७० मेगावाटको दुधकोशी–२ (जलेश्वर) जलविद्युत् आयोजनामा लक्ष्मी सनराइज बैंकको अगुवाइमा सहवित्तीयकरण सम्झौता

काठमाडौं । नेपालको ऊर्जा विकासमा एउटा महत्वपूर्ण कोशेढुंगाका रूपमा लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाइमा दुधकोशी हाइड्रोपावर नेपाल प्रालिले सोलुखुम्बु जिल्लामा निर्माण गर्ने ७० मेगावाट क्षमताको अर्धजलाशययुक्त दुधकोशी–२ (जलेश्वर) जलविद्युत् आयोजनामा सहवित्तीयकरण सम्झौता सम्पन्न भएको छ। कुल १५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ।

२०७७ असोज ८ गते विद्युत् विकास विभागबाट विद्युत् उत्पादनको अनुमति प्राप्त गरेको यस आयोजनाले २०७८ मंसिर ६ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (PPA) समेत गरिसकेको छ।

यस कम्पनीका मुख्य प्रवर्द्धकहरूमा आयु मलुन हाइड्रोपावर लिमिटेड, श्री शशांक केशरी, श्री किरण मल्ल, श्रीमती अभिज्ञा मल्ल, श्री विक्रम गौतम, श्री विकास गौतम, श्री अरुण अग्रवाल, श्री नरेन्द्र गुप्ता, डा. हिमालय भट्टराई तथा विभिन्न प्राइभेट इक्विटी भेन्चर क्यापिटलहरू रहेका छन्।

आयोजना निर्माणका लागि कुल लागतको ७० प्रतिशत रकम लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी ३० प्रतिशत रकम कम्पनीका संस्थापकहरूबाट लगानी हुनेछ। यस सहवित्तीयकरणमा एभरेष्ट बैंक सह–अगुवा बैंकका रूपमा र सानिमा बैंक सदस्य बैंकका रूपमा रहेका छन्। कुल प्रोजेक्ट फाइनान्स १० अर्ब ५० करोड रुपैयाँ रहेको छ।

यो आयोजना सन् २०२७ को जुलाईभित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ। उत्पादनपश्चात् वार्षिक करिब ४१७ गिगावाट आवर ऊर्जा राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ, जसले देशकै ठूलो स्वतन्त्र ऊर्जा उत्पादकको रूपमा यसको पहिचान स्थापित गर्नेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप