काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र नेपालस्थित बेलायती राजदूत रब फेनबीच सिंहदरबारमा भेटवार्ता भएको छ। भेटमा राजदूत फेनले नवनियुक्त मन्त्री घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका हुन्।
भेटका क्रममा दुई पक्षबीच नेपाल–बेलायतबीचको दीर्घकालीन मित्रता, ऊर्जा क्षेत्रमा बेलायतको सहयोग, पूर्वाधारमा लगानीको सम्भावना, तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा आवश्यक सहकार्य लगायत विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्री घिसिङले जेनजी आन्दोलनपछि गठन भएको सरकारको प्राथमिकता पुनर्निर्माण, आमचुनाव र सुशासन रहेको जानकारी गराउँदै ऊर्जा क्षेत्रमा बेलायतको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले विद्युतीय सवारी चार्जिङ स्टेसन स्थापनामा बेलायती सहयोग सराहनीय भएको उल्लेख गरे।
राजदूत फेनले बेलायत नेपालको पुरानो मित्र राष्ट्र भएको स्मरण गर्दै नेपाललाई आवश्यक सहयोग गर्न बेलायत प्रतिबद्ध रहेको बताए। उनले नेपालको समृद्धि बेलायतका लागि पनि महत्वको विषय भएको उल्लेख गरे।




