८० रुपैयाँ विद्युत् महसुल तिर्न जाँदा दुई हजार खर्च

डोटी । डोटीको दुर्गम क्षेत्रका स्थानीय वासिन्दा ८० रुपैयाँ विद्युत् महसुल तिर्नको लागि दुई हजार रुपैयाँ भन्दा बढी रकम खर्च गर्न बाध्य भएका छन्। जिल्लाका ग्रामीण क्षेत्रमा विद्युत् महसुल तिर्ने काउण्टर नभएका कारण सेवाग्राहीलाई न्यूनतम रकम तिर्न घण्टौ टाढा हिँडेर र गाडीको यात्रा गरी जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल पुग्नुपर्ने बाध्यता छ।

शिखर नगरपालिका–१ कपल्लेकी सेवाग्राही दीर्घबहादुर ऐरले गाउँमा तीन महिनामा एक पटक मात्रै मिटर रिडिङ हुने गरेको बताए।

विजुलीको बिलको भुक्तानीका लागि ग्रामीण क्षेत्रबाट पुरानो क्षेत्रीय सदरमुकाम दिपायल जानुपर्छ। दिपायल पुग्दा दुई हजारभन्दा बढी रकम खर्च हुने गरेको मुडभाराका गणेश महराले बताए। ‘बिलको रकम कमै हुन्छ, त्यो रकम तिर्न घण्टौँ हिँडेर दिपायल जानुपर्छ,’ महराले भने, ‘गाडी भाडा पाँच सय, होटेलमा बास बसेको र खाना खाएको समेत गर्दा दुई हजारभन्दा बढी रकम खर्च हुन्छ।’

एकै दिनमा विद्युत्को बिल भुक्तानी गर्न नसकिने र पालो कुर्नुपर्ने भएकाले खर्च वढी हुने सेवाग्राहीले बताए।

जिल्लाका ग्रामीण क्षेत्र कपल्लेकी, मुडभारा, सानागाउँ, गोपघाटलागयत क्षेत्रमा विगतमा विद्युत् महसुल बुझाउने काउण्टर खोलिएका भए पनि हाल बन्द छ। विद्युत् कार्यालयले कमचारी अभाव भएको भन्दै सबै काउण्टर दिपायल र सिलगढी सारेपछि सेवाग्राहीलाई समस्या भएको हो।

दिपायलस्थित विद्युत् सवस्टेसन प्रमुख भरत द्वारीयाले कर्मचारी अभाव भएकाले गाउँमा भएका काउण्टर दिपायल तथा सिलगढी सार्नुपरेको बताए।

ग्रामीण क्षेत्रमा विद्युत् महसुल बुझाउने काउण्टर विस्थापित गरिएपछि सेवाग्राहीलाई महशुल बुझाउन निकै झण्झट र खर्चिलो भएको शिखर नगरपालिका–१ का वडाअध्यक्ष खडकबहादुर शाहीले बताए।

“विद्युत् महसुल बुझाउनका लागि सेवाग्राहीलाई समस्या भएकाले पुनः काउण्टर राख्न पहल गरिरहेका छौँ,” उनले भने।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री