दसैँ, तिहार र छठका लागि पर्यटक बसको अग्रिम बुकिङ खुला

काठमाडौँ । नजिकिँदै गरेका दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी पर्यटक बस व्यवसायीहरूले अग्रिम टिकट बुकिङ खुला गरेका छन्। ‘टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टिवान)’ ले चाडपर्वमा आन्तरिक तथा बाह्य पर्यटकहरूको सुरक्षित र भरपर्दो यात्राका लागि यो सुविधा प्रदान गरेको हो।

टिवानका अध्यक्ष भीष्म न्यौपानेले काठमाडौँ, पोखरा, सौराहा लगायतका प्रमुख पर्यटकीय गन्तव्यहरूमा यात्रा गर्ने यात्रुहरूको सहजताका लागि अग्रिम बुकिङ खुला गरिएको जानकारी दिए। यात्रुहरूले खल्ती र इसेवा जस्ता अनलाइन भुक्तानी सेवा प्रदायकहरू मार्फत टिकट काट्न सक्नेछन्। हाल काठमाडौँको सोह्रखुट्टे सडकबाट नेपालका विभिन्न पर्यटकीय स्थलहरूमा २०० भन्दा बढी पर्यटक बसले सेवा दिइरहेका छन्।

यसैबीच, दसैँका लागि आन्तरिक हवाई उडानका अधिकांश टिकटहरू बिक्री भइसकेका छन्। यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार ७० प्रतिशतभन्दा बढी टिकटहरू अग्रिम रूपमा बिक्री भइसकेका छन्। धेरै यात्रुहरूले टिकट होल्ड गरेर राखेको अवस्थाले गर्दा माग उच्च रहेको उनले बताए।

तर, सार्वजनिक यातायात व्यवसायीहरूले भने यस वर्ष दसैँका लागि बसको अग्रिम टिकट बुकिङ नखोल्ने निर्णय गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले ‘जेनजी’ को प्रदर्शनका कारण क्याम्पसहरू बन्द हुँदा धेरैजसो यात्रुहरू पहिले नै घर गइसकेकोले अग्रिम बुकिङको आवश्यकता नदेखिएको बताए। उनले पाँच दिनपछि यात्रा गर्ने यात्रुहरूका लागि पाँच दिनअगाडि नै टिकट काट्न सकिने व्यवस्था कायमै रहेकोले यात्रुहरूलाई सोही अनुसार टिकट लिने आग्रह गरे।

चाडपर्वमा यात्रुहरूलाई सहज र सुरक्षित यात्राका लागि सरकारले पनि विशेष तयारी गरेको छ। दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। बिहीबार काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले ती सहायता कक्षहरूको शुभारम्भ गरेका थिए। यसले चाडपर्वमा यात्रा गर्ने यात्रुहरूलाई थप सुरक्षा र सहयोग प्रदान गर्ने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री