काठमाडौं । देशव्यापी प्रदर्शनका कारण भाटभटेनी सुपरस्टोरका १२ वटा शाखा अझै सञ्चालनमा आउन नसके पनि व्यवस्थापनले आफ्ना १० हजार कर्मचारीको रोजगारी र सेवा-सुविधा सुरक्षित रहने प्रतिबद्धता जनाएको छ। भदौ २४ गतेको प्रदर्शनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीले ठूलो क्षति पुगेपछि रोजगारी गुम्ने चिन्ता बढेको थियो, तर भाटभटेनीले सबै आशंकालाई चिर्दै कर्मचारीप्रति आफ्नो मानवीय दायित्व पूरा गर्ने घोषणा गरेको छ।
भाटभटेनी सुपरस्टोरका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले यस घटनापछि कुनै पनि कर्मचारीलाई नहटाइएको स्पष्ट पारेका छन्। पूर्ण रूपमा क्षति भएका र हाल बन्द रहेका १२ वटा सुपरस्टोरका कर्मचारीहरूलाई अहिले सञ्चालनमा रहेका १६ वटा शाखाहरूमा काममा खटाइएको छ, जसले गर्दा उनीहरूको जीवनयापनमा कुनै बाधा नपर्ने सुनिश्चित भएको छ।
भदौ २४ गतेको घटनामा भाटभटेनीका २८ मध्ये १२ वटा सुपरस्टोरमा चोरी डकैतीपछि आगजनी गरी पूर्ण क्षति पुर्याइएको थियो। साथै, नौ वटामा तोडफोड तथा चोरी डकैती भएको थियो भने ७ वटामा कुनै क्षति पुगेको थिएन। केन्द्रीय कार्यालयमा समेत क्षति पुगेको थियो।
वार्षिक ३७ अर्ब रुपैयाँ बराबरको व्यापार गर्ने यो विशाल व्यावसायिक प्रतिष्ठानले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। यस्तो विषम परिस्थितिमा पनि कर्मचारीको मनोबल उच्च राख्दै उनीहरूको भविष्य सुरक्षित गर्ने भाटभटेनीको निर्णयले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।




