काठमाडौं । बैतडीको पूर्चौडी नगरपालिका वडा नम्बर १०, विजयपूरकी २२ वर्षीया बसन्ती विष्टले कटौजपानी स्वास्थ्य चौकी जाँदै गर्दा बाटोमै झाडीमा शिशुलाई जन्म दिएकी छन् । डेलिभरीका लागि कटौजपानी स्वास्थ्य चौकीतर्फ जाँदै गर्दा बसन्तीलाई अकस्मात प्रसव पीडा सुरु भयो । स्वास्थ्य चौकीसम्म पुग्न नसकेपछि उनले झाडीमै शिशुलाई जन्म दिनुपरेको हो ।
कटौजपानी स्वास्थ्य चौकीकी अनमी रमिता जोशीका अनुसार बसन्तीले ३ किलो ४ सय ग्राम तौलको स्वस्थ शिशुलाई जन्म दिएकी छन् । आमा र शिशु दुवैको अवस्था सामान्य रहेको बताइएको छ।
स्थानीयका अनुसार दोगडाकेदार–८ स्थित कटौजपानी स्वास्थ्य चौकी ग्रामीण स्वास्थ्य सेवा प्रदान गर्नमा अन्य भन्दा अगाडि छ। यसले दोगडाकेदार मात्र नभई पूचौडीको तल्लादेही, बिजपुर लगायतका दर्जनौं गाउँमा स्वास्थ्य सेवा पुर्याउँदै आएको छ ।
तर, सञ्चार सुविधाको अभावले गर्दा स्वास्थ्य सेवाको पहुँचमा ठूलो चुनौती थपिएको स्थानीय सरिता विष्ट बताउँछिन् । “सञ्चारको सुविधा नहुँदा आकस्मिक अवस्थामा स्वास्थ्यकर्मीलाई खबर गर्न वा थप सहयोग माग्न निकै गाह्रो हुन्छ,” उनले भनिन् ।
यस घटनाले बैतडीका दुर्गम क्षेत्रहरूमा स्वास्थ्य सेवाको पूर्वाधार र सञ्चार सञ्जाल विस्तारको आवश्यकतामाथि गम्भीर प्रश्न उठाएको छ ।




