क्षतिग्रस्त संरचना पुनर्निर्माणमा स्रोत पर्याप्त, सुशासन नै प्राथमिकता : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अर्थतन्त्रको दिगो विकासका लागि कानुनी स्पष्टता अपरिहार्य रहेको बताएका छन्। बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवगठित कार्यसमितिलाई स्वागत गर्दै गभर्नर पौडेलले कतिपय अवस्थामा कानुनी अस्पष्टताका कारण काम गर्न असहज भएको अनुभव सुनाए।

उनले कानुनको मर्म र भावनाअनुसारको स्पष्टता सबै क्षेत्रमा जरुरी रहेकोमा जोड दिए। “कानुनको स्पष्टता सबै क्षेत्रमा आवश्यक पर्छ। विशेष गरी पत्रकारहरूले समाचार लेख्ने क्रममा कानुनको व्याख्या राम्रो नभए गलत सन्देश जाने जोखिम हुन्छ, यसमा सबै सचेत हुनुपर्छ,” उनले भने। आमनागरिक र सरोकारवालासँग अन्तरक्रियाका लागि पत्रकारिता एउटा महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै गभर्नर पौडेलले सेजनसँग सहकार्यका लागि केन्द्रीय बैंक सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

हालैको ‘जेनजी’ प्रदर्शनका क्रममा क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि स्रोतको अभाव नहुने उनले स्पष्ट पारे। “पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक छ, यद्यपि त्योभन्दा महत्त्वपूर्ण विषय सुशासन र प्रशासनिक कार्यक्षमतामा सुधार हो,” उनले भने। प्रदर्शनका क्रममा निजी क्षेत्रमाथि भएका आक्रमणले व्यवसायीमा चिन्ता थपिए पनि अब निजी क्षेत्रको मनोबल उच्च बनाउँदै अगाडि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो।

गभर्नर पौडेलले स्वदेशी लगानीलाई सुरक्षित र आकर्षित गर्ने वातावरण बनाउन सके मात्रै विदेशी लगानी भित्र्याउन सकिने बताए। “प्रदर्शनका क्रममा कैयौँ निजी व्यापारिक भवनमा क्षति पुगेको छ, तर अब हाम्रो प्राथमिकता स्वदेशमा लगानीको वातावरण निर्माण गरी विदेशी लगानी आकर्षित गर्नमा हुनुपर्छ। त्यसैले सुरुमा स्वदेशको लगानीलाई यहीँ रोक्ने वातावरण बनाउन सकियो भने अर्थतन्त्रमा गतिशील हुन लामो समय लाग्दैन,” उनले भने।

उनले अर्थतन्त्रको विकासका निम्ति राजनीतिक स्थायित्व, लगानीमैत्री वातावरण र निजी क्षेत्रको मनोबलमा अभिवृद्धि आवश्यक भएको औँल्याए। व्यवसायीको हित संरक्षण र अर्थतन्त्रलाई चलायमान बनाउन प्रणालीगत सुधार आवश्यक रहेकोमा उनले जोड दिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री