काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेडको १९औँ वार्षिक साधारण सभा कम्पनीको रजिस्ट्रार कार्यालय, बाटुलेघर, डिल्लीबजार, काठमाडौँमा सम्पन्न भएको छ । संस्थाको १९ औँ साधारण सभाले आ.व. २०८१/८२ को मुनाफाबाट १६.०० प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ ।
वार्षिक साधारण सभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावहरूमा आ.व. २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पारित गरेको छ ।
साथै, आ.व. २०८२/८३ को लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गरेको छ ।
नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), संस्थागत परामर्श सेवा, धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर), शेयर रजिस्ट्रार तथा डि–म्याट खाता जस्ता लगानीकर्ताहरूसँग प्रत्यक्ष सरोकारका कामहरू गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सह–लगानी रहेको कम्पनीले जानकारी दिएको छ ।
काठमाडौँ डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन् ।
काठमाडौँ बाहिरका लगानीकर्ताहरूले पूँजीबजारमा प्रत्यक्ष रूपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरिका सम्पूर्ण शाखा कार्यालयहरूबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरूलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समूहबाट सेवा प्रदान गर्दै आएको कम्पनीले जानकारी दिएको छ ।




