काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाईल बैकिङ् एप ‘गरिमा डिजि बटुवा’बाट नेपालको आफ्नै भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । बैंकका ग्राहकहरुले नजिकैको शाखा कार्यालयमा उपस्थित भई फारम भरेपश्चात आफ्नो मोबाईल बैकिङ एपमा सो सेवा सुचारु गर्न सक्नेछन् ।
उक्त भर्चुअल क्रेडिट कार्डमार्फत ग्राहकले फोनपे को कुनै पनि क्युआर कोड र फोन पे नेटवर्कमा सजिलै भुक्तानी गर्न सक्नेछन् । न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँसम्म क्रेडिट सीमा रहेको छ । यस भर्चुअल क्रेडिट कार्डमा भुक्तानीका लागि ग्राहकहरूले अधिकतम ४५ दिनसम्म बिना ब्याज क्रेडिट रकम उपभोग गर्न सक्नुका साथै १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्पसमेत लिन सक्नेछन् ।
भौतिक रुपमा नभई मोबाईल बैकिङ एपमा भर्चुअल रुपमा उपलब्ध हुने यस सुविधाले ग्राहकलाई थप सुरक्षित र नविनतम अनुभव दिने विश्वास विकास बैंकले राखेको छ ।




