नेपाली काँग्रेसले देशभर संविधान दिवस भव्यताका साथ मनाउने, संविधान रक्षाको संकल्पमा दृढ

काठमाडौँ । नेपाली काँग्रेसले आगामी असोज ३ गते देशभर ‘संविधान रक्षा’ को मूल संकल्पका साथ संविधान दिवस मनाउने भएको छ । पार्टीका उपसभापति पूर्णबहादुर खड्काले बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै ७७ वटै जिल्लामा संविधान दिवस मनाउने निर्णय गरिएको जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जेन जी प्रदर्शनकारीहरूको आगजनी र तोडफोडबाट क्षतिग्रस्त भवनमा आयोजित पत्रकार भेटघाटमा उपसभापति खड्काले संविधानको महत्व र रक्षाका लागि पार्टी दृढ रहेको सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको बताए । उनले पार्टीको क्षेत्रीय कार्यसमिति, जिल्ला सभापतिहरू, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई पनि संयमतापूर्वक संविधानलाई शिरमा राखेर संविधान दिवस मनाउन निर्देशन दिइएको जानकारी दिए ।

उपसभापति खड्काले भने, “हामीले कार्य सम्पादन समितिको बैठक गर्‍यौँ, क्षेत्रीय कार्य समितिहरूको बैठक गर्‍यौँ, जिल्ला सभापतिहरूसँग जुम मिटिङ गर्‍यौँ । र हामी असोज ३ गते ७७ वटै जिल्लामा, जुनजुन जिल्लामा जुनजुन समिति छ, सबै ठाउँमा हाम्रो पार्टीका कार्यसमितिहरू, भ्रातृ संस्थाहरू, शुभेच्छुक संस्थाहरूलाई संयुक्त रूपमा शान्तिपूर्ण तरिकाले संविधान हातमा लिएर संविधान दिवस मनाउने छलफल गरिसकेका छौँ।”

उनले सिंगो पार्टी पंक्तिलाई संविधानको रक्षाका लागि दृढतापूर्वक संविधान दिवस मनाउने अभियानमा सरिक हुन आह्वान गरे । “म सबै पार्टीका क्षेत्रीय सभापति, जिल्ला सभापति लगायत सबै साथीहरूलाई ३ गते अत्यन्त संयमतापूर्वक, दृढतापूर्वक संविधान रक्षाको जिम्मेवारीलाई शिरमा राखेर संविधान दिवस मनाउने निर्णय भएको छ । सबैलाई यही आह्वान गर्दछौँ,” खड्काले थपे ।

यसैबीच, नेपाली काँग्रेसले जेन जी प्रदर्शनकारीहरूको कुटपिटबाट घाइते भई उपचार गराइरहेका पार्टी सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्थामा सुधार आइरहेको जनाएको छ । उपसभापति खड्काले सभापति देउवाको निर्देशनअनुसार पार्टीका कामलाई अघि बढाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे ।

संविधान दिवसको अवसरमा देशभर हुने कार्यक्रमले संविधानको महत्व र यसको रक्षाका लागि नेपाली काँग्रेसको प्रतिबद्धतालाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री