जेनजी आन्दोलनका १० मृतकलाई आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाडौं । ‘जेनजी आन्दोलन’मा ज्यान गुमाएका थप १० जनाको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा रहेका ९ जना र पाटन अस्पतालमा रहेका १ जना गरी कुल १० जना मृतकको शवलाई आज अन्त्येष्टिपूर्व नगर परिक्रमा गराउने तयारी भइरहेको हो ।

यसअघि नै जेनजी आन्दोलनका केही मृतकको दाहसंस्कार सम्पन्न भइसकेको छ । सरकारले आन्दोलनका क्रममा निधन भएकाहरूलाई ‘सहिद’ घोषणा गर्दै राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ ।

नवनियुक्त गृह, कानुन न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेकै दिन यससम्बन्धी महत्त्वपूर्ण घोषणा गरेका थिए । सोही निर्णयलाई कार्यान्वयन गर्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई थप राहत दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार, मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र अन्त्येष्टि तथा अन्य खर्चबापत थप ५ लाख गरी कुल १५ लाख रुपैयाँ प्रदान गरिनेछ । यसका लागि अर्थ मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत मृतक परिवारलाई उक्त रकम हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको छ । जेनजी आन्दोलनले देशभर ठूलो प्रभाव पारेको थियो, जसका क्रममा हालसम्म ७२ जनाले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप