काठमाडौँ । देशका विभिन्न भागमा हालै सिर्जित विषम परिस्थिति र त्यसबाट भएको जन-धनको क्षतिप्रति एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गहिरो दुःख व्यक्त गरेको छ। कम्पनीले यस दुखद घडीमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, यस आन्दोलनका कारण भएको भौतिक सम्पत्तिको क्षतिप्रति पनि कम्पनीले दुःख व्यक्त गरेको छ।
भदौ २३ गतेदेखि सुरु भएको जेन-जी आन्दोलनका क्रममा बीमित सम्पत्तिमा क्षति पुगेका ग्राहकहरूलाई बीमा दावी प्रक्रिया थप सहज बनाउने एनएलजी इन्स्योरेन्सले जनाएको छ। कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै, यस विषम परिस्थितिमा परेका बीमितहरूलाई दावी भुक्तानी प्रक्रियामा कुनै असहजता नहोस् भन्नका लागि विशेष व्यवस्था गरिएको जानकारी दिएको छ।
एनएलजी इन्स्योरेन्सले आफ्ना ग्राहकहरूलाई क्षतिको विवरण यथाशीघ्र कम्पनीका सम्बन्धित कर्मचारीलाई उपलब्ध गराउन आग्रह गरेको छ। कम्पनीले बीमितको सुरक्षा सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै, यस चुनौतीपूर्ण समयमा ग्राहकहरूलाई पूर्ण साथ र सहयोग प्रदान गर्ने विश्वास दिलाएको छ।
कम्पनीले बीमितहरूलाई कुनै पनि अलमल वा कठिनाइ भएमा सिधै कम्पनीका प्रतिनिधिहरूसँग सम्पर्क गर्न अनुरोध गरेको छ, ताकि दावी प्रक्रियालाई छिटो र प्रभावकारी रूपमा अगाडि बढाउन सकियोस्। एनएलजी इन्स्योरेन्सले यस्तो संवेदनशील घडीमा आफ्ना बीमितहरूको साथमा रहेको र उनीहरूलाई परेको मर्कामा मल्हम लगाउन हरसम्भव प्रयास गर्ने बताएको छ ।





