देशभर बदली, शुक्रबार यी स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपासमा रहेकाले हाल देशभर सामान्यदेखि पूर्ण बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, यसको प्रभावले कोशी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानमा र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी, गण्डकी प्रदेशको पहाडी क्षेत्र, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी तथा तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। साथै, मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

महाशाखाले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। नदीतट तथा भिरालो जमिन नजिकका बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री