देशभरको आन्दोलनमा भएको क्षतीप्रति चेम्बर अफ कमर्सको गहिरो दुःख, संवाद र सहकार्यमा जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हालै देशभर भएका आन्दोलनका क्रममा जनधनमा भएको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । चेम्बरले आन्दोलनमा ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

आन्दोलनका क्रममा औद्योगिक तथा व्यावसायिक क्षेत्रमा गम्भीर क्षति पुगेको उल्लेख गर्दै चेम्बरले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा सबै सरोकारवाला निकायहरूलाई संवाद, सहकार्य र संयमता अपनाउन गम्भीर ध्यानाकर्षण गराएको छ। देशले भोगिरहेको यो कठिन घडीमा शान्तिपूर्ण समाधान खोज्न चेम्बरले आग्रह गरेको हो।

चेम्बरले जेनजी पुस्ताले उठाएका भ्रष्टाचार निवारण, सुशासन कायम, राज्य संयन्त्रको पारदर्शिता, रोजगारी सिर्जना र सरकारी सेवामा नागरिकको सहज पहुँच जस्ता विषयहरूलाई सबै सरोकारवालाले गम्भीरतापूर्वक लिनुपर्ने आजको आवश्यकता औंल्याएको छ। यी जायज मागहरूको सम्बोधनले मात्रै दिगो शान्ति र विकास सम्भव हुने चेम्बरको धारणा छ।

आन्दोलनका क्रममा भएको जनधनको ठूलो क्षतिले देशमा थप निराशा फैलाउने, औद्योगिक तथा व्यावसायिक वातावरण खल्बल्याउने र लगानीमैत्री वातावरणमा प्रतिकूल असर पार्ने भएकाले सबै सरोकारवाला पक्ष संयमित बनेर निकास खोज्नुपर्नेमा चेम्बरले जोड दिएको छ। यस्ता घटनाले अर्थतन्त्रमा दीर्घकालीन नकारात्मक प्रभाव पार्न सक्ने भन्दै चेम्बरले चिन्ता व्यक्त गरेको छ।

आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरोकारवाला पक्ष र जेनजी पुस्ताका युवाहरूलाई संवाद र रचनात्मक सहकार्यमार्फत दीर्घकालीन समाधान खोज्न चेम्बरले आह्वान गरेको छ। मुलुकको समग्र विकासमा सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा समेत चेम्बरले व्यक्त गरेको छ। शान्ति, सुशासन र आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्नका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा चेम्बरले जोड दिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री