काठमाडौं । नेपालको सार्वजनिक क्षेत्रमा सबैभन्दा पुरानो वाणिज्य संस्थाको रूपमा स्थापित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड (एसटीसी) ले आफ्नो ६३औँ वार्षिकोत्सवको अवसरमा वृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । “रक्तदान नै जीवनदान हो” भन्ने महान् मान्यतालाई आत्मसात् गर्दै आज संस्थाको कालिमाटीस्थित केन्द्रीय कार्यालय भवनमा आयोजित यस कार्यक्रममा ७३ जनाले स्वेच्छापूर्वक रक्तदान गरेका छन् ।
रक्तदान गर्ने प्रत्येक महानुभावलाई एसटीसीले प्रमाणपत्र प्रदान गरी सम्मान गरेको छ । यस कार्यले सामाजिक उत्तरदायित्व बहन गर्दै मानवीय सेवामा आफ्नो प्रतिबद्धता दर्शाएको छ ।
नेपाल सरकारको सार्वजनिक–निजी साझेदारी (पीपीपी) ऐनअन्तर्गत स्थापित नेपालको एक अग्रणी व्यापारिक संस्थाको रूपमा एसटीसीले नुन, चिनी, खाद्यान्न, कृषि सामग्री, एलपीजी ग्यास, औषधि र खाद्यतेल लगायतका अत्यावश्यक उपभोग्य वस्तुहरूको आयात, भण्डारण र वितरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । विशेषगरी, आयोडिनयुक्त नुनको पहुँचलाई देशभर विस्तार गर्न यस संस्थाले अग्रणी भूमिका निर्वाह गरेको छ ।
चाडपर्वका बेला उपभोक्ताहरूलाई राहत प्रदान गर्न दसैँ, तिहार र छठ जस्ता प्रमुख अवसरहरूमा सहुलियतपूर्ण पसल सञ्चालन गर्दै आएको एसटीसीले सामाजिक हितका कार्यहरूमा पनि उत्तिकै सक्रियता देखाउँदै आएको छ । यो रक्तदान कार्यक्रम सोही सामाजिक उत्तरदायित्वको निरन्तरता हो ।




