कांग्रेसले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयमाथि छलफल गर्ने, अभिव्यक्तिको स्वतन्त्रतामाथि चिन्ता

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरकारको निर्णयप्रति गम्भीर चासो व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बसेको बैठकले यस संवेदनशील विषयमा सरकारसँग तत्काल छलफल गर्ने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकपछि सहमहामन्त्री जीवन परियारले जानकारी दिँदै भने, ‘सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयका सम्बन्धमा सरकारसँग विस्तृत छलफल गरिनेछ र त्यसपछि मात्र पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिनेछ ।’

सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा सूचीकृत हुन बाध्य पार्ने र त्यसो नगरेको खण्डमा बन्द गर्नेसम्मको चेतावनी दिएपछि जनस्तरमा र राजनीतिक वृत्तमा समेत यसको व्यापक आलोचना भइरहेको छ । आलोचकहरूले यो कदमलाई नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनामाथिको पहुँचमाथि अंकुश लगाउने प्रयासका रूपमा हेरेका छन् ।

कांग्रेसले यस विषयलाई सत्ता साझेदार दलको रूपमा मात्र नभई लोकतान्त्रिक मूल्यमान्यताको संरक्षकका रूपमा पनि हेरेको बुझिएको छ । सरकारको यो निर्णयले नागरिकका आधारभूत अधिकारमाथि पार्न सक्ने प्रभावबारे पार्टीभित्र गम्भीर बहस भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री