काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानमा र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेकाले यसको प्रभाव देशभर परेको छ। विशेषगरी सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा देखिन्छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, यसैको प्रभावले यतिबेला कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली छाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभरको पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीको सम्भावना छ। देशका पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। विशेषगरी, कोशी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेकाले सचेत रहन आग्रह गरिएको छ।
आज राति कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीको अवस्था रहनेछ। यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना पनि औँल्याइएको छ।
महाशाखाले कोशी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।



