दिगो विकासका लागि सबैलाई समेट्न आवश्यक : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले दिगो विकासलाई केवल आर्थिक र भौतिक प्रगतिको साँघुरो घेरामा सीमित नराखी शिक्षा, समाज र प्रविधि लगायतका सबै क्षेत्रमा समान महत्वका साथ अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।  आयोजित ‘दिगो विकासका लागि अन्तरविषयक अध्ययन’ विषयक अन्तर्राष्ट्रिय गोष्ठीमा बोल्दै डा. यादवले समाज कल्याण र सामाजिक न्यायमा समर्पित परिवर्तनकारी नेतृत्वको आवश्यकता औंल्याएका हुन् ।

उनले युवाहरूलाई जिम्मेवार र दूरदर्शी नेतृत्वकर्ता बन्न विशेष आग्रह गरे । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत वाग्लेले अन्तरविषयक अध्ययनले विद्यार्थीहरूमा बहुआयामिक सोच, नवप्रवर्तन र समुदायसँगको सशक्त सम्बन्ध विकास गर्न महत्वपूर्ण अवसर प्रदान गर्ने बताए ।

कार्यक्रमका अध्यक्ष बद्रीदेव पाँडेले यस्ता अन्तर्राष्ट्रिय सेमिनारहरूले युवाहरूलाई परिवर्तनकारी नेतृत्वको बाटोमा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरे । नेशनल कलेजका प्रिन्सिपल माधव न्यौपानेले सेमिनारमा दिगो विकासका तीन महत्वपूर्ण आयामहरू–अन्तर विषयक दृष्टिकोण, शैक्षिक–समुदाय सम्बन्ध र दिगोपनका लागि डिजिटलीकरणबारे गहन छलफल भएको जानकारी दिए ।

कार्यक्रममा विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि, अनुसन्धानकर्ता, विद्यार्थी र समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूबीच दिगो विकास, सामाजिक जिम्मेवारी र भविष्यका चुनौतीहरूका बारेमा फलदायी छलफल भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री