काठमाडौं । नेपालमा सामाजिक सञ्जाल नियमनका लागि सरकारले कडा कदम चालेलगत्तै फेसबुकको माउ कम्पनी मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्पर्क गरेका छन् । बिहीबार साँझ मेटाका एक प्रतिनिधिले मन्त्रालयका अधिकारीहरूसँग आवश्यक कागजातबारे चासो राखेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए ।
प्रवक्ता ठाकुरका अनुसार, सिंगापुरबाट आएका ती प्रतिनिधिले मन्त्री पृथ्वीसुब्बा गुरूङको सचिवालयमा सम्पर्क गरी नेपालमा सामाजिक सञ्जाल सूचीकरणका लागि आवश्यक प्रक्रिया र कागजातबारे बुझ्न खोजेका थिए । मन्त्रालयले इमेलमार्फत आवश्यक कागजातको विस्तृत विवरण पठाइसकेको जनाएको छ ।
‘एक जना प्रतिनिधिले सम्पर्क गरेर सूचीकरण हुन केकस्ता कागजात चाहिन्छ भनेर सोध्नुभएको रहेछ । त्यसबारे जानकारी दिनलाई इमेलमार्फत आवश्यक गर्ने कागजातको विवरण पठाइसक्यौं,’ प्रवक्ता ठाकुरले भने । उनले सम्पर्कमा आउने व्यक्ति मेटाकै कर्मचारी रहेको पुष्टि भएको र यसअघि पनि कुराकानी भइसकेको जानकारी दिए ।
यद्यपि, मन्त्रालयले मेटा आधिकारिक रूपमा सम्पर्कमा आएको भन्न नमिल्ने बताएको छ । प्रवक्ता ठाकुरले भने, ‘ती व्यक्ति मेटाकै कर्मचारी हो भन्ने पुष्टि भइसकेको छ । किनभने ती व्यक्तिसँग हाम्रो पहिले पनि कुराकानी भएको छ । यद्यपि मेटा आधिकारिक रूपमा सम्पर्कमा आएको भन्न मिल्दैन । किनभने निवेदन आएपछि मात्रै त्यसलाई आधिकारिक मान्नुपर्ने हुन्छ ।’
यो घटनाक्रम सरकारले २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्ने मन्त्रिस्तरीय निर्णय गरेलगत्तै भएको हो । बिहीबार बसेको मन्त्रिस्तरीय बैठकले नेपाल दूरसञ्चार प्राधिकरणलाई उक्त निर्णय कार्यान्वयनका लागि निर्देशन दिएसँगै सेवा प्रदायकहरूलाई बन्द गर्न पत्राचारसमेत भइसकेको छ ।
सरकारले सामाजिक सञ्जाल नियमनका लागि कडाइ गरेपछि मेटाका प्रतिनिधिले चासो देखाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।




