मन्त्रीलाई ज्यान मार्ने धम्की प्रकरण: किरण साहलाई नरम व्यवहार गर्न मन्त्री यादवकै आग्रह

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले आफूलाई फोन गरेर ज्यान मार्ने धम्की दिएकी बाराकी किरण साहमाथि कुनै पूर्वाग्रह नरहेको स्पष्ट पारेका छन् । हाल प्रहरी हिरासतमा रहेकी साहलाई नरम व्यवहार गर्न र उनको पक्राउसँग आफूलाई नजोड्न पनि मन्त्री यादवले अनुरोध गरेका हुन् । 

वीरगञ्जमा हैजा फैलिएका बेला किरण साहले मन्त्री यादवको मोबाइल नम्बरमा फोन गरी आक्रोश पोखेकी थिइन् । सो क्रममा उनले हैजाले मानिस मरिरहेको तर मन्त्री भएर केही गर्न नसकेको भन्दै ज्यान मार्ने धम्की दिएको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । यसपछि मन्त्री यादवले पर्सा प्रहरीलाई दिएको सूचनाका आधारमा गत शनिबार किरण साह पक्राउ परेकी थिइन् ।

आफ्नो फेसबुक स्टाटसमार्फत मन्त्री यादवले समस्या प्रश्न गर्नुमा नभई हिंसाको भावना व्यक्त गर्दा यस्तो स्थिति देखिएको बताएका छन् । उनले लेखेका छन्, ‘फोनकर्ता महिलालाई प्रहरीले थुन्नुसँग मलाई नजोड्नु होला । मेरो व्यक्तिगत रूपमा उनीप्रति कुनै पूर्वाग्रह छैन ।’

मन्त्री यादवले साहप्रति नरम भइदिन पनि प्रहरीलाई आग्रह गरेका छन् । उनले फोनकर्तालाई सच्चिन तथा लोकतान्त्रिक अधिकार प्रयोग गर्ने कार्यमा आफ्नो सहयोग रहने बताउँदै सचिवालयमार्फत प्रहरीसमक्ष नरम व्यवहारका लागि खबर पुर्‍याएको जानकारी दिएका छन् । मन्त्री यादवले ती महिला अरू कसैको उक्साहटमा परेको हुनसक्ने अनुमान गर्दै त्यसको मनसाय के थियो भन्नेबारे प्रहरीले अनुसन्धान गर्ने विश्वास व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘एक जनप्रतिनिधिमाथि रिस पोख्नुलाई सामान्य रूपमा लिए पनि अनाहक अफवाह फैलाउने, मार्ने धम्की दिने कार्य उक्त फोनकर्ताबाट भएको हुनाले मेरा हितैषीहरू चिन्तित र चासो लिनु स्वाभाविक हो । ती फोनकर्तालाई उक्साउने वा मेन्टरिङ गर्नेको मनसाय के थियो त्यसको छानबिन प्रहरीले गर्छ नै ।’

मन्त्री यादवले लोकतन्त्रमा जनताले गुनासो पोख्ने छुट भए पनि कुनै पनि निहुँमा अराजकता फैलाउने अनुमति दिन नसकिने स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘लोकतन्त्रमा जनताले गुनासो पोख्ने छुट छ तर कुनै पनि निहुँमा अराजकता फैलाउने अनुमति दिन सकिँदैन ।’ किरण साहमाथिको अनुसन्धान प्रक्रिया सकिएको खबर पाएको र अदालतबाट राम्रो फैसला आउने आशा राखेको पनि मन्त्री यादवले बताएका छन् । ‘कानुनभन्दा माथि कोही हुन्न । हामीले विधि र अदालतको निष्पक्षतामाथि विश्वास गर्नुपर्छ,’ उनले लेखेका छन्, ‘उहाँको अनुसन्धान प्रक्रिया सकेको खबर छ आशा छ फैसला राम्रो आउने छ ।’

  • यस्तो छ मन्त्री यादवको फेसबुक स्टाटस :-

वीरगञ्ज मेरो जन्मथलो त हुँदै हो, यसका साथै राजनीतिक संघर्ष तथा स्वीकृतिको भूमि हो । पछिल्ला दिनहरूमा यहाँ पहिला खानेपानीको संकट देखा पर्‍यो । यसको तत्कालीक र दीर्घकालीक समाधानका लागि म संघीय खानेपानी मन्त्रीका रूपमा स्थानीय वीरगञ्ज महानगरपालिकासँग सामन्जस्य स्थापित गरी युद्धस्तरमा सक्रिय भएँ । खानेपानी समस्या मधेश प्रदेशमा सघन देखिएको हुनाले प्रदेश सरकारसँग समेत समन्वय गर्न साथै यसको दीर्घकालीन समाधानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूसँग सल्लाह र सहयोग लिएँ ।

खानेपानीको संकट न्यूनीकरणको प्रक्रिया अगाडि बढ्दै थियो कि वीरगञ्जमा झाडा पखाला र हैजाका विरामीहरू देखिन थाले । म स्वयं जनताबीच पटक–पटक गई तिनका समस्या सुन्ने, असन्तुष्टि बुझ्ने र आम नागरिकका अप्ठ्याराहरूलाई व्यवस्थापन गर्न दिन–रात लागि परें । यसका लागि सम्माननीय प्रधानमन्त्रीसमक्ष भुइँ तहको सूचना साझेदारी, सम्बन्धित संघीय स्वास्थ्य मन्त्री तथा मन्त्रालयसँग समन्वय, तथा स्थानीय सरोकारवाला पक्षबीच समन्वयका काम गर्दै रहें ।

जनताका बीच संघर्ष गर्ने व्यक्ति भएको हुनाले जनताको पीरमर्का बुझ्ने, गुनासाहरूको व्यवस्थापन गर्नु म आफ्नो धर्म ठान्दछु । जनताले सरकारसँग प्रश्न गर्न पाउन् भन्ने मेरो राजनीतिक संघर्षको ध्येय रहीआएको छ ।

मेरो मोबाइल नम्बरमा आएको फोन कललाई सकेसम्म म उठाउने गर्दछु । सेभ नरहेका नम्बरबाट आएको कल समेत उठाउने मेरो बानी छ । कुनै प्राविधिक तथा अफिसियल कारणबस फोन उठाउन नसकेको अवस्थामा पछि कलब्याक समेत गर्ने गरेको छु ।

गत साता मेरो नम्बरमा एक अज्ञात महिलाको फोन आयो, जसमा उनी निकै आक्रोशित रूपमा प्रस्तुत भइन् । मलाई लाग्यो उनकै कथनानुसार कोही आफन्त विरामी भएको भएर पीडा पोखिएको होला । तर उनले गुहार लगाउनुभन्दा ज्यान मार्ने धम्कीसमेत दिएको हुनाले मैले त्यो नम्बर सहितको सूचना पर्सा प्रहरीलाई दिए ।

यसका साथै वीरगञ्जका नगर प्रमुख राजेशमान सिंह जी र पर्सा जनस्वास्थ्य कार्यालयका प्रमुखलाई नोट गराए । र यो पनि आग्रह गरें, यदि ती फोनकर्ताको कोही आफन्त गम्भीर विरामी छ भने त्यसमा सक्दो सहयोग पुर्‍याउने ।

पछि अस्पतालमा पता लगाउँदै जाँदा थाहा पाइयो वीरगञ्जको कुनै अस्पतालमा उनको परिवारका कोही सदस्य भर्ती थिएन ।

यसैबीच ती महिलाले मलाई दिइएको हत्यावाला अडियो आफैं इडिट गराई सार्वजनिक गराइन् र गरिन् । र फेरि संयोगले असली अडियो पनि बाहिर आएर आफैं सत्यतथ्य छर्लङ्ग भयो ।

पर्सा प्रहरीले आफ्नो अनुसन्धान अगाडि बढाउँदा ती फोनकर्ता हिरासतमा राखिएकी हुन् । मेरो व्यक्तिगत रूप उनीप्रति कुनै पूर्वाग्रह छैन ।

एक जनप्रतिनिधिमाथि रिस पोख्नुलाई सामान्य रूपमा लिए पनि अनाहक अफवाह फैलाउने, मार्ने धम्की दिने कार्य उक्त फोनकर्ताबाट भएको हुनाले मेरा हितैषीहरू चिन्तित र चासो लिनु स्वाभाविक हो । ती फोनकर्तालाई उक्साउने वा मेन्टरिङग गर्नेको मनसाय के थियो त्यसको छानविन प्रहरीले गर्छ नै ।

कसैलाई बाटो बिराउनबाट जोगाउनु पनि हाम्रो जिम्मेदारी हो । फोनकर्तालाई सच्चिन तथा लोकतान्त्रिक अधिकार प्रयोग गर्ने कार्यमा मेरो सहयोग रहनेछ । फोनकर्ता महिलाप्रति नरम भइदिनको लागि सचिवालय मार्फत प्रहरी समक्ष खबर पुर्याएको छु ।

समस्या प्रश्न गर्नुमा कदापि होइन । हिंसाको भावना व्यक्त गर्दा यस्तो स्थिति देखिएको हो । फोनकर्ता महिलालाई प्रहरीले थुन्नुसँग मलाई नजोड्नु होला ।

कानुनभन्दा माथि कोही हुन सक्दैन र हुँदैन । हामीले विधि र अदालतको निष्पक्षतामाथि विश्वास गर्नुपर्छ । उहाँको अनुसन्धान प्रक्रिया सकेको खबर छ आशा छ फैसला राम्रो आउने छ ।

म फेरि भन्छु– लोकतन्त्रमा जनताले गुनासो पोख्ने छुट छ तर कुनै पनि निहुँमा अराजकता फैलाउने अनुमति दिन सकिँदैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री