काठमाडौं । अटोमोबाइल्स क्षेत्रको अग्रणी संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले केही सञ्चारमाध्यममा आफ्नो संस्थाका सम्बन्धमा प्रकाशित ‘अनर्गल, तथ्यविहीन र निराधार’ समाचारहरूप्रति गम्भीर आपत्ति जनाउँदै खण्डन गरेको छ । नाडाले आफ्ना सम्पूर्ण गतिविधि प्रचलित कानुन, विधान र संस्थागत प्रक्रियाअनुरूप मात्र अघि बढाइएको स्पष्ट पारेको छ ।
नाडाले दीर्घकालीन संस्थागत सुदृढीकरणको बृहत् लक्ष्यका साथ नाडालाई महासंघमा रूपान्तरण गर्ने प्रस्ताव अघि बढाएको हो । यस सम्बन्धमा केन्द्रीय कार्यसमितिको भाद्र ३ र ८ गते बसेका बैठकहरूले अन्तिम निर्णय लिनका लागि विशेष साधारण सभा बोलाउने निर्णय गरेको थियो। संस्थाले यस प्रक्रियामा सम्पूर्ण सदस्यहरूको मताधिकार पूर्णरूपमा सुरक्षित गरिएको र विशेष साधारण सभा आह्वान गर्नु कुनै पनि कोणबाट अवैधानिक वा संस्थाको इमान्दारितामाथिको प्रहार नभएको दाबीलाई पूर्णतः असत्य ठहर गरेको छ।
यसअघि प्राप्त उजुरीका आधारमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्रारम्भिक रूपमा विशेष साधारण सभा स्थगन गर्न निर्देशन दिएको थियो। तर, नाडाका अनुसार, दुवै पक्षसँगको विस्तृत छलफलपश्चात् नाडाले आवश्यक कागजात र स्पष्टीकरण पेस गरेपछि प्रशासनले पत्रमार्फत सो आदेश फुकुवा गरेको छ। यससँगै, विशेष साधारण सभा तोकिएकै मितिमा निर्वाध रूपमा सम्पन्न हुने मार्ग प्रशस्त भएको नाडाले जनाएको छ।
अध्यक्ष चौधरीको स्पष्टोक्ति: ‘व्यक्तिगत स्वार्थ छैन, पद हस्तान्तरणका लागि तयार छु’
नाडाका अध्यक्ष करणकुमार चौधरीले संस्थामाथि लगाइएका पदाधिकारी हेरफेर र कार्यकाल लम्ब्याउनेजस्ता आरोपहरू पूर्ण रूपमा गलत र भ्रामक रहेको बताएका छन्। उनले भने, “म कुनै व्यक्तिगत स्वार्थले पदमा बसिरहेको छैन। यदि सबै सरोकारवालाहरूको सहमति भयो भने म तुरुन्तै निर्वाचनसहितको वार्षिक साधारण सभा आह्वान गरेर पद हस्तान्तरण गर्न तयार छु।” उनले नेतृत्वको चयन लोकतान्त्रिक प्रक्रिया र सदस्यहरूको मताधिकारमार्फत मात्र हुनेमा संस्था दृढ रहेको दोहोर्याए।
नाडाले आफू सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूको साझा संस्था भएको र यसलाई कुनै व्यक्तिको स्वार्थमा प्रयोग गर्न नदिइने प्रतिबद्धता व्यक्त गरेको छ। संस्थागत सुधार, महासंघमा रूपान्तरण जस्ता महत्त्वपूर्ण विषयहरू निष्पक्ष, पारदर्शी र सदस्यहरूको सामूहिक निर्णयका आधारमा मात्र अघि बढाइने नाडाले स्पष्ट पारेको छ।
नाडाले आफ्ना सम्पूर्ण सदस्य, व्यवसायी तथा शुभेच्छुकहरूलाई भ्रामक प्रचारप्रति सचेत रहन र संस्थाको आधिकारिक सूचना तथा लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्न हार्दिक आग्रह गरेको छ। नाडाको विशेष साधारण सभा निर्धारित मितिमा कानुनी र संस्थागत प्रक्रियाअनुसार सम्पन्न हुने निश्चित भएको छ।




