काठमाडौं । सरकारले सरकारी सेवा प्रवाहलाई थप सहज, प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले एक महत्त्वपूर्ण कदम चालेको छ। अबदेखि खाद्य उद्योग दर्ता सिफारिस, अनुमतिपत्र जारी तथा नवीकरण सम्बन्धी सम्पूर्ण सेवाहरू अनलाइन माध्यमबाटै उपलब्ध हुने भएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘नेपाल फुड एण्ड फिड इण्डष्ट्री लाइसेन्सिङ सिस्टम (नेफिल्स)’ नामक अनलाइन प्रणाली सञ्चालनमा ल्याएसँगै उद्योगी व्यवसायीहरूका लागि सरकारी सेवामा नयाँ युगको सुरुवात भएको छ ।
विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिएअनुसार यो प्रणाली खाद्य उद्योगी व्यवसायीहरूको सहजतालाई मध्यनजर गर्दै सञ्चालनमा ल्याइएको हो। “खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा २६(ठ) बमोजिम विभागले प्रवाह गर्ने सेवालाई प्रभावकारी ढंगले प्रवाह गर्न विद्युतीय प्रणालीको विकास गरी प्रयोगमा ल्याउने व्यवस्था छ,” महानिर्देशक कर्णले भने। सोही ऐनको दफा ८, ९ र १० मा उल्लेख गरिएका खाद्य उद्योग दर्ताको सिफारिस, अनुमतिपत्र तथा त्यसको मान्य अवधि र नवीकरण लगायतका सेवाहरू अब नेफिल्स प्रणालीमार्फत चुस्तदुरुस्त तरिकाले प्रवाह हुनेछन्।
‘पेपरलेस’ र ‘फेसलेस’ सेवाको अनुभव
महानिर्देशक कर्णका अनुसार नेफिल्स प्रणाली ‘पेपरलेस’ र ‘फेसलेस’ हुनेछ। यसको अर्थ उद्योगी व्यवसायीहरूले आफ्नो घर वा कार्यालयबाटै लगइन आईडी सिर्जना गरी उद्योग दर्ता सिफारिस, अनुमतिपत्र जारी र नवीकरणका लागि आवश्यक कागजातहरू नेफिल्स प्रणालीमा अपलोड गर्न सक्नेछन्।
प्रणालीमा कागजात अपलोड गरिसकेपछि विभागका कर्मचारीहरूले त्यसको अनुगमन गर्नेछन्। यदि सबै कागजात मिलेमा अनुमतिपत्र तयार भई सेवाग्राहीको इमेलमा पठाइनेछ। यदि कुनै कागजात नपुगेको वा नमिलेको खण्डमा कुन कागजात नमिलेको हो भन्ने जानकारीसहित पुनः अपलोड गर्नका लागि अनुरोध गरिनेछ। यसले गर्दा सेवाग्राहीले नमिलेका कागजातहरूलाई सच्याएर पुनः अपलोड गर्न सक्नेछन्। खाद्य उद्योगको नमूना ल्याउन बाहेक अन्य सबै कार्यका लागि विभाग धाउनुपर्ने अवस्थाको अब अन्त्य भएको महानिर्देशक कर्णले स्पष्ट पारे।
देशभरि विस्तारको योजना र द्रुत सेवा
हाल विभाग र विभागअन्तर्गतको हेटौंडा कार्यालयबाट यो सेवा सुरु भएको छ। महानिर्देशक कर्णले असोजको पहिलो हप्तादेखि विराटनगर, जनकपुर, भैरहवा, सुर्खेत, नेपालगन्ज र धनगढी लगायतका विभागअन्तर्गतका अन्य कार्यालयहरूबाट पनि यो सेवा सुचारु गर्ने तयारी भइरहेको जानकारी दिए। यसका लागि कर्मचारीहरूलाई आवश्यक तालिम र प्रशिक्षण दिने काम भइरहेको छ।
यस प्रणालीले कामलाई छिटो र पारदर्शी बनाउने दाबी गरिएको छ। महानिर्देशक कर्णका अनुसार विगतमा ३ देखि ६ महिनासम्म लाग्ने कामहरू अब बढीमा १५ दिनभित्र सम्पन्न हुनेछन् भने नवीकरण १ हप्ताभित्रै हुनेछ।
जी कोड प्रणालीले अनुगमनमा सहजता
नेफिल्स प्रणालीमा ‘जी कोड’ को व्यवस्था पनि गरिएको छ। यसले गर्दा उद्योगीहरूको उद्योग कहाँ अवस्थित छ भनी सजिलै पत्ता लगाउन सकिनेछ। विगतमा नक्सा बनाउने प्रचलनले गर्दा उद्योग रहेको ठाउँ पत्ता लगाउन मुस्किल हुने गरेकोमा जी कोडको व्यवस्थाले विभागबाट अनुगमनका लागि जाने निरीक्षकहरूलाई पनि सहजता हुने महानिर्देशक कर्णले बताए।
विभागका अनुसार खाद्य उद्योगी व्यवसायीहरूले www.neffils.dftqc.gov.np साइटमार्फत यो सेवा उपयोग गर्न सक्नेछन्। सुरुमा केही झन्झट लागे पनि यो प्रणाली सेवाग्राही र कर्मचारीमैत्री रहेको र एकपटक कागजात अपलोड गरेपछि पुनः अपलोड गरिराख्न नपर्ने भएकाले दीर्घकालमा अत्यन्तै उपयोगी हुने अपेक्षा गरिएको छ ।




