गोंगबुमा साढे चार करोड नगद र ९ किलो सुन बरामद

काठमाडौं । काठमाडौंको गोंगबु क्षेत्रमा प्रहरीले विशेष सूचनाका आधारमा छापा मार्दा करिब सवा चार करोड रूपैयाँ नगद र ९ किलोभन्दा बढी सुनका गरगहना बरामद गरेको छ । मंगलबार दिउँसो ७६ वर्षीय विनोदकुमार श्रेष्ठको तीनतले घरमा छापा मारेर प्रहरीले अवैध सम्पत्ति र मिटरब्याजको जालो उजागर गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार, श्रेष्ठको घरबाट ४ करोड २५ लाख ५० हजार रूपैयाँ नगद बरामद भएको छ । ठूलो मात्रामा नगद फेला परेपछि पैसा गन्नका लागि बैंकबाट मेसिन मगाउनु परेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, घरधनी विनोदकुमार श्रेष्ठ मिटरब्याजको धन्दामा संलग्न थिए । उनले ऋणीहरूबाट सुन धितोका रूपमा लिने गरेको आरोप छ । बरामद भएको विशाल रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले श्रेष्ठलाई तत्काल नियन्त्रणमा लिएको छ ।

नगदका साथै प्रहरीले श्रेष्ठको घरबाट ९ किलोभन्दा बढी सुनका गरगहना र ३ किलोभन्दा बढी चाँदीका गरगहना पनि बरामद गरेको छ । यो छापा काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले विशेष सूचनाका आधारमा हानेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री